काठमाण्डु – युक्रनेमा रहेका १९३ जना नेपालीहरू सुरक्षित रहेको जर्मनीस्थित नेपाली दुतावासले जनाएको छ । सम्पर्कमा आएका सबै १९३ जना नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।
युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासले अनुमान गरेको छ । रुसले युक्रेनको पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपालीहरु स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।
‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ । रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो ।
दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ ।





प्रतिक्रिया