सुर्खेत – कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितको विरोधमा सोमबार आह्वान भएको बन्दका क्रममा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी भयो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) को कार्यालयमा पनि तोडफोड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूको स्थिति पैदा भएको हो ।
शान्त वीरेन्द्रनगर कसरी एकाएक रणभूमि बन्यो ?
एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी(ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए ।
कर्णालीमा यी दलको राजनीतिक संगठन त्यति बलियो छैन । सुर्खेतमा झनै कम रहेको छ । सोमबार बिहान यी राजनीतिक दलले निकालेको र्यालीमा न्यून सहभागिता थियो । कार्यकर्ता बिहानै ६ बजे नै बजार बन्द गराउँदै हिडेका थिए । बन्दका कारणले बजार, स्कुल, सवारीसाधन चल्न सकेनन् । दिउँसो १२ बजेसम्म सुर्खेत बजार शान्त नै थियो ।
मुख्य बजारका चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति थियो । दिउँसो १२ बजेसम्म शान्त रहेको बजार क्षेत्र एकाएक रणमैदानमा परीणत भयो । दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ–ठाउँमा झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गर्यो ।
आन्दोलनकारीले ढुंगा प्रहार गर्दा इन्सपेक्टरसहित १८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियो,’ उनले भने ।
प्रहरीमाथि ढुंगा प्रहार गर्नेमा स्कुले विद्यार्थी, सवारी चालक पनि रहेको प्रहरी दाबी छ । सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच विभिन्न ठाउँमा भएको झडपमा प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहानदेखि अहिलेसम्म २३ जना आन्दोलनकर्ता प्रहरीको नियन्त्रणमा रहेका छन् । जसमध्ये १७ जनालाई सोमबार नै पक्राउ गरिएको थियो ।
पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी
आन्दोलनकारीले प्रहरीसँग ठाउँठाउँमा झडप हुँदै जाँदा सोमबार साँझ वीरेन्द्रनगर–६ गोदाम लाइनमा रहेका एमालेको कार्यालयमा आगजनी गरे ।
नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड गर्न लाग्दा प्रहरीले बचाएको थियो । पार्टी कार्यालय बचाउन लाग्दा मंगलगढी चोकमा रहेको प्रहरी बिट आन्दोलनकारीले जलाइसकेका थिए ।
कर्फ्यू जारी
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले सोमबारबाट कर्फ्यू आदेश जारी गरेको हो ।
सोमबार साँझ सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । रिजालले कर्फ्यू आदेशलाई उल्लङ्घन गर्नेलाई गोलीसमेत हान्न सकिने आदेश जारी गरिएको जानकारी दिए ।
‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ । सुरुमा सम्झाई बुझाई गर्छौँ । यदि आदेशको वास्ता नै नगरी बढ्ता भएको खण्डमा गोली समेत हान्न सकिने आदेश जारी छ,’ उनले भने । अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।




प्रतिक्रिया