रुस–युक्रेनबीच युद्ध चलिरहँदा काठमाण्डुमा दुवै देशका सैनिक सहचारी एउटै कार्यक्रममा, गरे जङ्गीअड्डाको भ्रमण

रुस–युक्रेनबीच युद्ध चलिरहँदा काठमाण्डुमा दुवै देशका सैनिक सहचारी एउटै कार्यक्रममा, गरे जङ्गीअड्डाको भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ ।

सो अवसरमा युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो । टोलीमा भारत, चीन, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बङ्गलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारी पनि भ्रमण दलमा सहभागी थिए । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित बढाइँ विशेष समारोहमा सहभागिता रहेको उक्त टोलीले लुम्बिनी र पोखराको समेत अवलोकन भ्रमण गर्ने छ ।

सैनिक सहचारीको भ्रमणले नेपाल र ती मुलुकबीच सैनिक कूटनीतिमार्फत सम्बन्ध अझ सुमधुर तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ । सैनिक मुख्यालयको भ्रमणका क्रममा टोलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भ्रमण दलले भेट गरेको जानकारी दिइएको छ ।