काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पक्षले एमसीसीका विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।
गत पुस १३–१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको थियो । तर, अचानक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले आजबाट सुरु हुने बैठकमा सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेको हो ।
‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य नभएको र जल्दोबल्दो रुपमा एमसीसी आएकाले पहिला यसै विषयमा छलफल हुनुपर्ने हाम्रो माग छ ।’ उनका अनुसार एमसीसीका बारेमा छलफल भएपछि मात्रै अन्य विषयमा प्रवेश गर्नुपर्ने सो पक्षको निष्कर्ष रहेको छ ।
‘अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिनु भएको हो ? त्यसका बारेमा चित्त बुझ्दो प्रस्टीकरण दिनुपर्छ, नभए नारायणकाजी श्रेष्ठले आफ्नो लिखित राय बैठकमा राख्नु हुनेछ,’ पोखरेलले भने ।




प्रतिक्रिया