अनमोल अभिनित ‘बाटुलो जून’को आक्रमक ओपनिङ, पहिलो दिनमै डेढ करोड !

अनमोल अभिनित ‘बाटुलो जून’को आक्रमक ओपनिङ, पहिलो दिनमै डेढ करोड !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अनमोल केसी अभिनित नेपाली चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ।

निर्माण पक्षका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म फिल्मले १ करोड ३ लाख ४१ हजार १३६ रुपैयाँको व्यापार गरिसकेको छ। साँझसम्मको सबै कलेक्सन जोड्दा डेढ करोड आसपास पुग्ने अनुमान गरिएको छ।

साँझ र रातिका शोहरूमा पनि दर्शकको चाप रहेकाले पहिलो दिनको कुल व्यापार डेढ करोड रुपैयाँ नाघ्ने निर्माण पक्षको अनुमान छ।

रात्रीकालीन शोमध्ये केही हाउसफुल भएका छन्। वितरकका अनुसार फिल्मले देशभर २६२ भन्दा बढी शो पाएको छ र तीमध्ये २०० भन्दा बढी शो हाउसफुल भएका छन्।

भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’मा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्त मुख्य भूमिकामा छन्।

फिल्मले दुई पुस्ताको प्रेमकथा, पारिवारिक सम्बन्ध र भावनात्मक यात्रालाई समेटेको छ। अनमोल र प्रिन्सीले नयाँ पुस्ताको प्रेमकथा प्रस्तुत गरेका छन् ।

भुवन र गरिमा पन्तका पात्रमार्फत कथाले पुरानो पुस्ताको समय पनि समेट्छ। फिल्म कात्तिक २६ देखि देशभरका हलमा प्रदर्शनमा आएको हो।

पहिलो दिनको व्यापारिक गति कायम रहे ‘बाटुलो जून’ अनमोल केसीको करिअरकै उल्लेखनीय ओपनिङमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।