काठमाण्डु – एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले एक वक्तव्य जारी गर्दै तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो ।
आयोगले यस विषयमा विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको पनि जनाएको छ । ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ,’ आयोगका सहप्रवक्ता लोकनाथ प्रवक्ताद्धारा जारी वक्तव्यमा भनिएको छ ।
अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने आयोगले उल्लेख गरेको छ ।
‘यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लिखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ,’ वक्तव्यमा भनिएको छ ।





प्रतिक्रिया