काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन् । माओवादीको केन्द्रीय समिति बैठक बिहान ११ बजे बत्तिस पुतलीस्थित अनुपम फुडल्याण्डमा बस्दैछ ।
आज बस्ने बैठकले पदाधिकारी चयन गर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, पोलिटब्यूरो गठन गर्ने लगायतको तयारी गरेको छ । गत पुस १८ गते सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसको भोलिपल्ट बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै पार्टीको अध्यक्ष चुनेको थियो । अन्य पदाधिकारी भने अहिलेसम्म चयन गर्न सकेको छैन ।
माओवादी पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ । २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ । अब ६३ सदस्य मनोनित हुन बाँकी छ ।
त्यसैको सूची तय गर्न खुमलटारस्थित प्रचण्ड निवासमा शीर्ष नेताहरूको आउने जाने क्रम चलिरहेको हो । बैठक आजै सक्नका लागि पार्टी अध्यक्ष प्रचण्डले पूर्वस्थायी समितिका सदस्यहरूसँग छलफल गरिरहेको स्रोतले बतायो । छलफलमा नेताहरु देव गुरुङ, शिक्षामन्त्री देवेन्द्र पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, रामेश्वर राय यादव सहभागी रहेको स्रोतले बतायो ।




प्रतिक्रिया