गठबन्धनलाई ‘अर्ली इलेक्लन’ को मोह, नेम्वाङ भन्छन् -सत्तामा टिक्नको लागि नयाँ चलखेल हुँदैछ 

गठबन्धनलाई ‘अर्ली इलेक्लन’ को मोह, नेम्वाङ भन्छन् -सत्तामा टिक्नको लागि नयाँ चलखेल हुँदैछ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनभित्र पछिल्लो समय ‘अर्ली इलेक्सन’को विषयमा  चर्चा चलिरहेको छ । अमेरिकाको दबाब र नेकपा एमालेको संसद अवरोधकाबीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनभित्र अर्ली इलेक्सन गर्नेबारे आवाज उठेका हुन् । अर्ली इलेक्सनको विकल्प अघि सार्नुमा कारण भने प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई लिइएको छ ।

नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, कारबाही रोक्ने सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । नेकपा एमाले सभामुखले राजीनामा नदिए महाभियोग ल्याउनेसम्मको रणनीतिमा प्रस्तुत भइरहेको छ । आफ्ना माग सम्बोधन नभएसम्म संसद चल्न नदिने एमालेले अडान कायम राखेपछि सत्तारुढ दलहरुले अर्ली इलेक्सनको विकल्पमा अघि बढ्न सकिने मनस्थिति बनाएका हुन् ।

एमसीसी अनुमोदनपछि बालुवाटारमा बसेको सत्तागठबन्धन राजनीतिक संयन्त्रको बैठकमा नेताहरुले अर्ली इलेक्सनको विकल्पमा जानुपर्ने बाध्यात्मक अवस्था आएको धारणा राखेका थिए । उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्ली इलेक्सन गर्नु पर्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि भने सत्ता गठबन्धनका नेताहरुको मुखबाट अर्ली इलेक्सनको आवाज उठिरहेको छ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसदमा नाराबाजी गरिरह्यो भने मंसिर अगाडिनै संघीय चुनावमा जान सक्ने अवस्था आउने बताएका छन् । ‘ संसद चल्न नदिने, संसदमा जनताको हितका लागि बोल्न खोज्दा नाराबाजी गर्ने । हामीले यस विषयमा छलफल गरौँ भन्दा नआउने, यदि नेकपा एमालेले यस्तै गर्यो भने आगामि मंसिर अगाडि नै संघीय चुनाव गर्ने अवस्था आउन सक्छ ।, चुनाव पछि हामी सानदारका साथ सरकार चलाएर दखाउछौँ ।’, महामन्त्री थापाले काठमाण्डुमा आयोजीत एक कार्यक्रममा भनेका थिए ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पनि संसंद विघटन गर्ने चेतावनी दिएका छन् । उनले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने अवस्था आएको दावी गरे । ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

स्रोतका अनुसार एमसीसी पास हुनुभन्दा अघि पनि प्रचण्ड र  नेपालले स्थानीय तहको चुनाव भन्दा अगाडी संघीय चुनाव गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव राखेका थिए । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव अगामि वैशाख ३० गते तोकेपछि प्रचण्ड-माधवले असन्तुष्ट समेत जनाएका थिए । त्यसैगरी प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्री देउवा तयार नभएको बताएका छन् । सोमबार जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद भंग गरेर अर्लि इलेक्सन गर्न प्रधानमन्त्री देउवा नमानेको बताएका हुन् । ‘वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचन सर्ने सम्भावना छैन । चल्न त संसद विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन । प्रधानमन्त्री तयार हुनुहुन्न,’ उनले भने । 

स्थानीय तहको चुनाव सार्ने चलखेल भइरहेको छ : एमाले 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नोे स्वार्थका लागि सत्ता गठबन्धन दलहरुले अर्ली इलेक्सन गर्ने मनसाय बनाएको बताए । उनले यसभन्दा  अघि आफूहरुले अलि चाँडो जनताको बिचमा जानुपर्यो भन्दा प्रतिगमन भन्नेहरुले अहिले आएर अर्ली इलेक्सनको आवाज उठाउनुको पछि चलखेल भइरहेको दावी गरे ।

सत्ता गठबन्धनभित्र नेकपा एमालेका संसदहरुले भत्ता खाने काम मात्र गरे संसद चल्न दिनुभएन यस्तै अवस्था हो भने संसद विघटन हुन्छ भन्ने आवाज उठिरहेको छ  । अब पनि तपाईहरु संसद चल्न नदिने ? भन्ने काठमाण्डुपाटीको प्रश्नमा उनले भने, ‘ पहिला हामीहरुले  अलि चाँडो जनताकाेबीचमा जानुपर्यो भन्याैँ । हामीले जनताको बीचमा जाने घोषणा पनि गर्यौ त्यसलाई प्रतिगमन भन्ने साथीहरुले अहिले किन यस्तो सोचाई ल्याइरहेका छन्। । उहाँहरुको सोझो हिँडाइ छैन । उहाँहरुले आफ्नो स्वार्थका लागि, सत्तामा टिकिराख्नको लागि यो कुरा गरिरहेका छन् । अब संसदको कुरा गर्दा हामीले होइन संसद चल्न नदिएको उहाँहरुले हो संसद चल्न नदिएको । हाम्रा मागहरुको वेवास्थ गर्ने अनी  हामीलाई नै दोष लगाउन मिल्छ ? ’  

तपाईँहरुले पनि त हामीले चुनाव चाहिरहेका छौँ भन्दै हिडिराख्नु भएको छ । अब सत्ता गठबन्धनले मंसिर अगाबै संघीय चुनावमा जानुपर्छ भन्दा आफ्नो स्वार्थको लागि अर्ली इलेक्सनको कुरा आयो भन्नुको कारण के हो ? भन्ने प्रश्नमा नेता नेम्वाङले भने, ‘ हामीले चाहेको चुनाव र उनीहरुले भनिरहेको चुनावमा धेरै फरक छ । उहाँहरु मलाई लाग्छ, स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पुर्याउने, निर्वाचनमै गडबड गर्ने चलखेलमा लागिरहेका छन् । एउटा कुरा के हो  भन्दा हामीले विशेष कारणवश जनतामा जाउँ न भनेकै हो । त्यसमा हामी आफ्नो भनाइमा अडिग छौँ । तर हामीले भनेको कुरा र उनीहरुले जो अहिले अर्ली इलेक्सनको कुरा ल्याएको छ त्यसमा धेरै फरक छ ।’