मार्च ८ : मरणीदेवीको जिवनको त्यो कालो दिन, गाउँबाट नै पलायन हुनुपर्ने भयावह दृश्य

मार्च ८ : मरणीदेवीको जिवनको त्यो कालो दिन, गाउँबाट नै पलायन हुनुपर्ने भयावह दृश्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – २० वर्षअगाडिको कहालीलाग्दो दृश्य सम्झँदा मरणीदेवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणीदेवीको मानसपटलमा नाचिरहन्छ ।

उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणीदेवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु ।

बिरामी बच्चालाई झाँक्रीले ‘बोक्सी’ लागेको बताएपछि बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत मरणीदेवीलाई ‘बोक्सी घोषणा’ गर्‍यो।

३० साउन २०५८ मा भारतबाट आएका एक जना झाँक्रीले गाउँमा सानो पूजा लगाए । गाउँभरिका मानिसलाई प्रसाद खान दिए, तर खानेबित्तिकै मरणीदेवी बेहोस भइन्। बुहारीले उनलाई घर ल्याइन्। दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए। उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो, गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आएर उनलाई लछारपछार गर्न थाले ।

मरणीदेवीलाई लछारपछार गर्दै गर्दा गाउँका मान्छे पनि जम्मा भए । सहनी दाजुभाइले मरणीदेवीलाइ अन्धाधुन्ध पिट्न थाले । ‘मलाई आँखामा हानेकोसम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’ उनले भनिन् । बेहोस भएपछि सहनी दाजुभाइले कुट्न छाडे । उनलाई अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे गरे ।

मरणीदेवीका बुहारीहरूले गाउँकै अस्पतालमा लगे र उपचार गरे । उपचार गरेको पाँँच दिनपछि मरणीदेवीको होस आयो । यतिन्जेलसम्म मरणीदेवीलाई हेर्न प्रमुख जिल्ला अधिकारी आए, प्रहरी आए र बोक्सीको आरोपमा चरम यातना दिने सहनी दाजुभाइ पक्राउ परे भने झाँक्री फरार भए ।

मरणी देवी अहिले के गर्छिन ?

मरणीदेवी अहिले बोक्सी प्रथाकै विरुद्ध अभियान चलाउँछिन । समाजमा पुनःस्थापित भइसकेकी मरणीदेवी केही समय काठमाण्डुमा रहेका आफ्नो छोरासँग बसेपछि अहिले गाउँमै बसेर बोक्सी प्रथाविरुद्ध लागेकी छन् ।

‘कानुनले पनि मलाई न्याय दियो,’ उनी भन्छिन् । अहिले उत्तराधिकारीको रूपमा मरणीदेवीले आफ्ना बुहारीलाई पनि अभियानका लाग्न प्रेरणामात्र होइन जिम्मेवारी सुम्पेकी छन् । ‘सामाजिक अन्धविश्वासविरुद्ध डटेर लाग्न र सचेतना प्रवाह गर्न बुहारीलाई पनि अगाडि बढाएको छु,’ उनले भनिन् ।