काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गरेको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रुपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ ।’ नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छौं, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ ।’
गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उनले भने, ‘आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्यो, एमसिसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए पनि गठबन्धनबीच निर्वाचनसम्म मिलेर जाने सहमति भइसकेको छ ।’
पार्टी महासचिव डा वेदुराम भुसालले पार्टीको राजनीतिक प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल गरिने जानकारी दिए । उनले सचिवालय र पोलिटब्यूरोले गरेका निर्णय प्रस्तुत भई पारित गर्नेसमेत कार्यसूची रहेको जानकारी दिए ।
पार्टी प्रवक्ता जगनाथ खतिवडाले बैठकमा एमसिसीको विषयसमेत समेटिएको राजनीतिक प्रतिवेदन, आगामी कार्ययोजना, स्थानीय तह निर्वाचन तयारी, समसामयिक प्रस्ताव र सङ्गठन विस्तार योजनाका विषयमा विस्तृत र गहन छलफल हुने बताए ।
उनले भने, ‘राष्ट्रव्यापीरुपमा सिङ्गो देशको राजनीतिक शक्ति र नेपाली जनतालाई चुनावी माहौल बनाउनका निम्ति, निर्वाचनमा जानका निम्ति, प्रतिस्पर्धामा भाग लिएर अघि बढ्न आह्वान गर्छौं, पार्टीका नेता तथा कार्यकतालाई चुनावमा श्रेष्ठता हासिल गरेर पार्टीको शिर उच्च राख्न आग्रह गर्छौं ।’
बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेका जानकारी दिइयो । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया