काठमाण्डु- पछिल्लो समय नेपाली कांग्रेस स्थानीय तहको चुनावमा जुटेका छन् । सरकारले स्थानीय तहको मिति अगामि वैशाख ३० गते तोकेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेपाली कांग्रेस चुनावको तयारीमा जुटेको हो । जनताको विरोधकाबीच अमेरिकी सहयोग (एमसीसी) पास गरेकाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई धक्का लाग्ने समेत आकँलन पनि गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताएका हुन् ।
उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए । पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए ।
सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा। महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए । ‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन् ।
त्यसैगरी उनले (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा हरियो रंगको चिह्न बनाउने काम नेपाली कांग्रेसको पक्षमा रहेको भनि गरेको टिप्पणीमाथि समेत खण्डन गरेका छन् ।
उनले निर्वाचनको मतपत्र बनाउने कुरा निर्वाचन आयोगको भएकाले यो कुनै पार्टीको पक्ष वा विपक्षमा भन्न नमिल्ने बताएका हुन् ‘हरियो रङमा आपत्ति गर्ने हो भने यत्रो ४० प्रतिशत वन नै फाड्नुपर्ने होला’ महतले भने ‘शायद नेपाली कांग्रेसको प्रभाव बढिरहेको महशुस ओलीले गर्नु भएको होला।’




प्रतिक्रिया