काठमाण्डु- सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो ।
खाँणले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् । “मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ ।




प्रतिक्रिया