काठमाण्डु- मोरङमा आइतबार भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माविमा आइतबार आक्रोशित समूहको खुकुरी प्रहारबाट खोटाङकी उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरी भएकी थिइन । लोक सेवामा नाम निकाल्न असफल भएपछि अब जनताको सेवा गर्छु भन्ने उदेश्यले उनी प्रहरीमा प्रवेश गरेकी हुन् ।
२३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा नाम निकाल्न सफल भएपछि उनी निकै खुसी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । उनको विवाह भएको पनि धरै समय भएको छैन् । मृतक उर्मिलाका मामाका छोरा विष्णु श्रेष्ठ उनका दाजु पनि प्रहरी सेवामै कार्यरत छन् ।
उनका दाजु असई पदमा मोरङमा कार्यरत छन् । तर जनताको सेवा गर्ने उर्मिलाको उद्देश्य पुरा हुन सकेन । जसलाई सुरक्षा दिन्छु भनेर आफू प्रहरी बनेकी थिइन् उनीहरुकै हातबाट उर्मिलाले यो संसारबाट विदा हुनु पर्यो ।
झडपमा उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । उनलाई तत्कालै लेटाङ बजारस्थित मनकामना अस्पताल पुर्याइयो, तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे ।
यस्तो छ घटनाको नालिबेली
चैत ४ अर्थात तराईको होलीका दिन विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेल कक्षा ७ मा अध्ययनरत छात्राको घरमा पुगेका थिए । घरमा ती शिक्षकले विद्यार्थीसँग पानी मागेका थिए। तर, पानी ल्याएर दिने क्रममा ती शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरे । त्यसपछि आफैंलाई पढाउने शिक्षकले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै १३ वर्षीया किशोरी अभिभावक लिएर आइतबार बिहान विद्यालय प्रशासनमा पुगिन् ।तर, प्रशासनले आपसी समझदारीमै मिलाउनुपर्ने कुरा निकालेपछि विद्यालयका विद्यार्थीहरू आरोपित शिक्षक पौडेलविरुद्ध आक्रोशित भए।
शिक्षक पौडेलको ज्यान नै जोखिममा पर्न थालेपछि विद्यालय प्रशासनले सुरक्षाका लागि प्रहरीलाई बोलायो । जुत्ताको माला लगाई कालो मासो दलेर ती शिक्षकलाई लेटाङ बजार घुमाउने आक्रोशित विद्यार्थी र स्थानीयको माग थियो तर, प्रहरीको टोली पुगेर शिक्षक पौडेललाई विद्यालयमै थुनेर सुरक्षा दियो । विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरे । शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकल जलाइदिए ।
तर, शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित विद्यार्थी र स्थानीय प्रहरीमाथि जाइलागे । विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले स्थिति नाजुक बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न थाल्यो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।
आक्रोशित भिडको आक्रमणमा उर्मिलाको प्रहरी जवान मृत्यु भयो भने २५ जना प्रहरी घाइते भएका छन् । ७ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरूको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरूको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आइतबार बिहान १० बजेदेखि तनावग्रस्त लेटाङ–५ खेरुवास्थित शिक्षा विकास मावि परिसर राति ९ बजे मात्र शान्त भएको थियो ।
थप घटना घट्न सक्ने अवस्था भएपछि आज बिहान ७ बजेबाट जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।




प्रतिक्रिया