काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमाले एक्लै चुनाव जित्न सक्षम रहेका दावी गरेका छन् ।
कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले उक्त दाबी गरेका हुन् । उनले पछिल्लो समय संगठित सदस्यको संख्या समेत तीन गुना बढेको दाबी गरे ।
‘यो पटक निर्वाचन जित्न हामीसँग पर्याप्त आधारहरु छन् । हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो । नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुना बढेर आठ लाख ५५ हजार पुगेको छ’, उनले भनेका छन्, ‘पाँच दलीय गठबन्धनका कारण एमाले डरायो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ । तर, मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो । घेराबन्दी, आक्रमण र दुष्प्रचारबीच पनि हामी एक्लै जित निकाल्छौँ।’
उनले आगामी निर्वाचनमा एमालेको जित निश्चित भएको समेत दावी गरेका छन् । त्यस्तै उनले अदालतमा आफूअनुकूलको सेटिङ खडा गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।
‘आफ्ना स्वार्थका लागि न्यायपालिकाका पदाधिकारीहरूलाई हदैसम्म प्रयोग गर्ने र उपयोगिता मूल्य सकिएपछि महाअभियोगको प्रस्तावमार्फत् मानमर्दन, अपमान र आक्रमण गर्ने सत्ताधारीहरूको यो तरिका अनैतिक र दूषित मनशायले युक्त छ’ ओलीले भनेका छन्, महाअभियोग प्रस्ताव पारित हुन चाहिने दुईतिहाई सङ्ख्या आफूहरूसँग छैन भन्ने जान्दाजान्दै पनि प्रस्ताव दर्ता गर्नुको मक्सद प्रधानन्यायाधीशलाई निलम्बन गर्नु, आफू अनुकूलको सेटिङ खडा गर्नु र न्यायालयको भयदोहन गर्दै आफूहरू विरुद्धका सङ्गीन मुद्दाहरूबाट ध्यान विकेन्द्रित गर्नु या तिनमा न्यायपूर्ण फैसला हुन नदिन अदालतमाथि दबाब सिर्जना गर्नु हो ।’





प्रतिक्रिया