काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ बढेकाले नेपालको मागलाई धान्न महंगोमा बिजुली किन्न लागिएको बताएका हुन् ।
बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन्। उनले लोडसेडिङ हुन नदिने पनि दावी गरे । उनले भने, ‘केही अफ्ठेरो परेको छ । तर पनि व्यवस्थापन गर्छौँ । लोड सेडिङ हुन दिन्नौँ । ’
भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको छ ।
‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छौं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’




प्रतिक्रिया