काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनबीच बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत विगतमा हस्ताक्षर भएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडी बढाउनेबारे छ्लफल भएको भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख प्रमुख राजन भट्टराईले जानकारी दिए ।
‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी विआरआईसँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरुलाई निरन्तरता दिनुपर्छ । तिनीहरुलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो,’ भट्टराई भने ।
अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्री वाङसमक्ष तातोपानी र केरुङ नाकाबाट आयात–निर्यात सहज बनाउन आग्रह समेत गरे। ‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाकाहरु बन्द भएका छन् । नाकाहरु खुल्नु पर्यो । नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरु फर्केर आएका थिए । छिटो उनीहरुलाई फर्काएर पढाई सुुचारु गर्नुपर्यो,’ अध्यक्ष ओलीको भनाई उद्वृत गर्दै भट्टराईले भने ।
हुम्लाभन्दा पारी चीनमा करिव पाँच सय जना नेपालीहरु अड्कीएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्कीएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए ।
जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहोर्याएका थिए । भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू सहभागी थिए। यसअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । विदेशमन्त्री यी आज स्वदेश फर्कनेछन् ।




प्रतिक्रिया