काठमाण्डु – प्रदेश १ सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले आज राति १द्द बजेदेखि लागू हुनेगरि चालु नवौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
गएको दसैंअघि नै सुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनमा सकेसम्म प्रदेशको नाम टुंग्याउने, त्यो सम्भव नभए नामको विषय संसदमा प्रवेश गराउने मुख्यमन्त्री राजेन्द्र राईले प्रतिवद्धता जनाएका थिए । तर सो विपरीत प्रदेश–१ सरकारले संसद अधिवेशन टुंग्याएको छ ।
पाँच दलीय गठबन्धनको नेतृत्व गरेर मुख्यमन्त्री बनेका राई र गठबन्धनका अन्य नेताहरू सबैले हिउँदे अधिवेशनबाट नामकरण टुंगो लगाउने बताउँदै आएका थिए । यसबीचमा नामकै विषयमा सर्वपक्षीय एउटा छलफल आयोजना गरेको सरकारले मन्त्रीको नेतृत्वमा नामबारे संवाद समिति पनि बनाएको छ । यद्यपी नामकरणको मुद्दा संसदमा प्रवेश गराउने काम भने सरकारले गरेन ।
आजको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको बैठक अन्त्य गर्ने निर्णय गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
सत्ता गठबन्धनका नेताहरुले नामका बारे अझै छलफल जारी रहने र सहमतिका आधारमा बर्खे अधिवेशनमा नामकरण टुंग्याउने बताएपछि हिउँदे अधिवेशन अन्त्य गरिएको बताइएको छ ।




प्रतिक्रिया