एजेन्सी – रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने निर्णय गरेपछि युद्ध रोकिने सम्भावना बढेको हो ।
यसअघि नै रुसले किभभन्दा अन्यत्र सक्रियता बढाउने निर्णय लिएको थियो । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार किभ र चेरनिगोभमा सैन्य गतिविधि हटाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
फोमिनले युक्रेन तटस्थ राष्ट्र बन्नेदेखि परमाणु हतियाररहित रहने शर्तमा तयार भएपछि वार्ता सकारात्मक मोडतर्फ बढेको जानकारी दिएका छन् । यसअघि युक्रेनका राष्ट्रपति जेलेन्सीकले तटस्थ देश बन्ने तर त्यो युक्रेनी जनताले जनमतसंग्रहबाट निर्णय लिने बताएका थिए ।
रुसले भने क्रिमियाका अलावा पूर्वी युक्रेनका केही भूभागमा त्यहाँको जनताको निर्णय मान्नुपर्ने शर्त राख्दै आएको छ । उसले ती भू–भाग नियन्त्रणमा लिन खोजेको चर्चा चलिरहेको छ । क्रिमियामा रुसले नियन्त्रण बनाइराखेको छ । तर, अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन ।
यसैगरी, रुस र युक्रेनबीचको युद्ध रोकिने सम्भावना बढेपछि कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । आज साँझ मूल्य घटेर सय डलर भन्दा केही बढी कायम भएको छ ।




प्रतिक्रिया