काठमाण्डु – स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलभित्र मात्रै तालमेल गर्ने निर्णय गरेसँगै आगामी बैशाख ३० मा हुने चुनावमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमाले एक्लैले करिब ४० प्रतिशत स्थानीय तहमा जित हासिल गरेको थियो । यसपटक चुनावी तालमेल नभए जित्न नसकिँने भन्दै गठबन्धन दलहरू मिलेर निर्वाचन लड्ने निष्कर्षमा पुगेका हुन् ।
अब सत्ता सगठबन्धनमा रहेका पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एमालेबीच पतिस्पर्धा हुनेछ ।
एमालेले मूलतः एक्लै चुनाव लड्ने निर्णय गरे पनि स्थानीय आवश्यकताअनुसार तालमेलको ढोका खुला राखेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले तालमेल गर्ने निर्णय लिएपछि एमालेलाई पनि वैकल्पिक गठबन्धनको ढाँचामा काम गर्न दबाब बढेको छ । तर, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एक्लैले गठबन्धनको सामना गर्ने बताए ।
गत निर्वाचनमा पनि एमालेले एक्लै लडेर सफलता हासिल गरेको स्मरण गर्दै उनले भने, ‘अहिले झन् बलियो भएका छौं । त्यसकारण गठबन्धनबाहेकका दलसँग पनि हामी राष्ट्रिय रूपमा तालमेल गर्दैनौं । स्थानीय तहमा आवश्यकताअनुसार तालमेल गर्ने कुरालाई रोक लगाएका छैनौं ।’
सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा जस्तै स्थानीय तहमा पनि संयुक्त रूपमा चुनाव लड्ने निर्णय गरेकाे कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचनको समग्र परिस्थितिबारे केन्द्रमा छलफल हुने र वस्तुस्थितिबारे अध्ययन गर्न प्रदेश, जिल्ला र पालिका तहमा पाँचै दलका प्रतिनिधि सम्मिलित संयन्त्र बन्ने उनले बताए । सरकारका प्रवक्तासमेत रहेका कार्कीले गठबन्धनमा रहेका पार्टीका तहअनुसारका प्रमुखहरू सम्मिलित संयन्त्रले २१ चैतसम्म केन्द्रमा विश्लेषणात्मक प्रतिवेदन बुझाएपछि भागबन्डालगायतका विषयमा छलफल हुने जानकारी दिए ।
वैशाख ३० गते ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक ३५ हजारभन्दा बढी प्रतिनिधिका लागि चुनाव हुनेछ ।
अघिल्लो निर्वाचन अर्थात २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी चीन चरणमा चुनाव भएको थियो । त्यसबेला एमाले सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो भने कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा पनि अपेक्षाकृत नतिजा ल्याउन सकेका थिएनन् ।
हिजाे बिहीबारसम्मको घटानाक्रम हेर्दा सत्ता गठबन्धन कायमै, पुनः एमाले एक्लै र अरु दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर यसपटक एमाले आफैँ विभाजित भएर एकीकृत समाजवादी गठन भएको अवस्थामा कस्तो परिणाम आउला भन्ने चासो व्यक्त हुन थालेको छ ।
२०७४ सालको चुनावी परिणाम
पाँच वर्षअघि ३५ हजार २ सय १८ जना जनप्रतिनि निर्वाचित भएका थिए। केही वडाहरुमा दलित समूदायको उपस्थिति नहुँदा दलित महिला सदस्य रिक्त नै रहेका छन्। उक्त चुनावमा एमालेले एक्लैले झण्डै ४४ प्रतिशत स्थानीय तहमा जनप्रतिनिधि जितेको थियो ।
निर्वाचन आयोगका अनुसार एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २५६० र वडा सदस्य १० हजार ९ सय १२ जना एमालेबाट निर्वाचित भएका थिए।
त्यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा गठबन्धन गरेको कांग्रेसबाट ११ हजार ४ सय ५४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। कांग्रेसले २६६ प्रमुख, २२३ उपप्रमुख वा उपाध्यक्ष, २२८६ वडा अध्यक्ष र ८ हजार ६ सय ७९ वडा सदस्य जितेको थियो। कांग्रेसले स्थानीय तहको ३२.५ प्रतिशत जनप्रतिनिध आफ्नो पक्षमा पार्न सफल भएको थियो।
२०७४ सालमा कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा स्थापित भएको थियो। माओवादी १०६ स्थानीय तहको प्रमुख, १११ उपप्रमुख वा उपाध्यक्ष, ११०२ वडा अध्यक्ष र ४१२३ जना वडा सदस्य जितेको थियो जुन १५.४ प्रतिशत मात्रै हो। यो चुनावमा कांग्रेस माओवादीले सहकार्य गरे पनि सोचेअनुसार परिणाम हासिल गर्न सकेका थिएनन्।
त्यसबेला चौथो ठूलो दलका रुपमा तत्कालीन संघीय समाजवादी हालको जसपाले १४३९ जना जनप्रतिनिधि जितेको थियो। उक्त पार्टीबाट ३४ स्थानीय तह प्रमुख, ३२ जना उपप्रमुख, २६२ वडा अध्यक्ष र ११११ जना वडा सदस्य निर्वाचित भएका थिए।
त्यस्तै पाँचै ठूलो दलका रुपमा तत्कालीन राजपा हालको लोकतान्त्रिक समाजवादी उदाएको थियो। राजपाले २५ स्थानीय तहको प्रमुख, ३० उपप्रमुख १९५ वडा अध्यक्ष र ८६२ वडा सदस्य जितेको थियोे।
तत्कालीन फोरम लोकतान्त्रिकले ९ स्थानीय तह, ८ उपाध्यक्ष, ८८ वडा अध्यक्ष र ३५६ वडा सदस्य जितेको थियो। विजयकुमार गच्छदार नेतृत्वको उक्त दल कांग्रेसमा एकीकरण भएको छ।
२०७४ सालको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वारले ६ तहको प्रमुख जिते भने ५ वटामा उपप्रमुख भए। त्यस्तै ९१ जनाले स्वतन्त्र ढंगले वडा अध्यक्ष जितेका थिए भने १३१ वडा सदस्य स्वतन्त्र रुपपमा विजयी भए।
त्यस्तै राप्रपाले पाँच, जनमोर्चाले ३, नयाँ शक्तिले २, नेपाली जनता दलले २ र नेमकिपाले १ स्थानीय तह जितेको थियो। यो पटकको निर्वाचनमा भने कुन दलले बाजी मार्लान त्याे भने हेर्न बाँकी छ ।




प्रतिक्रिया