भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी १ हप्ताभित्र प्रतिवेदन पेस गर्नेछ ।

समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् ।

सीडीओ अधिकारीका अनुसार समितिले सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ ।

भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा ३ वटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनको भनाइ छ ।

बिहीबार बिहान काठमाण्डुबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।