टुँडिखेलमा घोडेजात्रा सम्पन्न, राष्ट्रपति भण्डारीद्वारा अवलोकन (फोटोफिचर)

टुँडिखेलमा घोडेजात्रा सम्पन्न, राष्ट्रपति भण्डारीद्वारा अवलोकन (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको हाे ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिन्।

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण  टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए ।

सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राईडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हङ्गेरियन पोष्ट र सामूहिक जम्प प्रदर्शन गरियो ।

कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरियो । कुकुरलाई इमान्दार र आज्ञापालक जनावरका रुपमा लिइछ । घोडेजात्रा अवलोकनका लागि कायम मुकायम प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख, नेपालस्थित सैनिक सहचारी तथा समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुगेका थिए ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ ।