असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिगको २६औँ खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध विराटनगरले २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो।

विराटनगरका चरिथ असलंकाले ४३ बलमा ६ चौका र ६ छक्कासहित ६४ रन बनाए। उनी १८औँ ओभरको अन्तिम बलमा आउट भए। शुबम रञ्जनेले अविजित ३१ रन जोडे भने इमरान शेख २४ रनमा रिटायर्ड हर्ट भए। इमरानले २९ बल खेलेका थिए।

लोकेश बम १५ रनमा आउट भए। शहाण जयसूर्या एक र इसुरु उदाना ६ रन बनाएर पभेलियन फर्किए। बासिर अहमदले दुई बलमा अविजित ६ रन जोडे। विराटनगरले अन्तिम पाँच ओभरमा ६४ रन बनाएको थियो।

लुम्बिनीका किशोर महतोले दुई तथा रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले एक–एक विकेट लिए।

लिग चरणको अन्तिम खेल खेलिरहेको लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ। विराटनगरका लागि भने प्लेअफ सम्भावना कायम राख्न जित आवश्यक छ।

विराटनगर पराजित भए चितवन एक खेल बाँकी छँदै प्लेअफमा पुग्नेछ; विराटनगर विजयी भए चितवनको अन्तिम खेलको नतिजाले समीकरण तय गर्नेछ।