काठमाण्डु – लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा तीन नगरपालिकासहित ६ वटा स्थानीय तह छन् । यो जिल्लामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । केही गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको पनि प्रभाव छ ।
०७४ सालको निर्वाचनमा धेरै स्थानमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । फलस्वरूप ६ मध्ये पाँचवटामा गठबन्धनले प्रमुखमा विजयी हासिल गर्यो । एमालेले एउटामा अध्यक्ष, उपाध्यक्ष र अर्काेमा उपाध्यक्ष जित्यो । माओवादीबाट एमालेमा गएका टोपबहादुर रायमाझीको गृहजिल्ला अर्घाखाँचीमा आसन्न स्थानीय चुनावमा पनि गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । रायमाझी एमालेमा रहँदा माओवादीलाई भने झट्का लागेको छ ।
गत चुनावको परिणाम
अघिल्लो चुनावमा स्थानिय तहमा काग्रेस पहिलो शक्ति बनेको थियो । माओवादी र एमालेको अवस्था बराबरीको थियो । जिल्ला सदरमुकामसमेत रहेको सन्धिखर्कमा तालमेलबाट कांग्रेसले मेयर र माओवादीले उपमेयर जिते । यसबाहेक कांग्रेसले छत्रदेव गाउँपालिकामा तालमेल नगरी अध्यक्ष–उपाध्यक्ष नै जित्यो । उसले पाणिनिमा एक्लै र शीतगंगामा पनि माओवादीसँगको तालमेलबाट प्रमुख जित्यो भने भूमिकास्थानमा उपमेयर जित निकाल्यो । माओवादी केन्द्रले कांग्रेससँगको तालमेलबाट भूमिकास्थानमा मेयर तथा सन्धिखर्कमा उपमेयर सितगगामा उप मेयर जित्यो । एमाले मालारानीमा अध्यक्ष, उपाध्यक्ष तथा पाणिनिमा उपाध्यक्ष जित्न सफल भयो ।
कस्तो होला आगामी परिणाम
जिल्लामा यसपटक पनि सत्तासाझेदार दलले तालमेलका लागि प्रयास गरिरहेका छन् । यसपटक एमाले विभाजित भएको छ भने माओवादीका प्रभावशाली नेता एमालेमा लागेका छन् । त्यसैले अर्घाखाँचीको भावी परिणाम पनि मूलतः दलीय समीकरणमा टिकेको छ । सत्तासाझेदार दलबीच गठबन्धन बन्यो भने यसपटक पनि जिल्लामा एमालेलाई झट्का लाग्न सक्छ । किनकि अधिकांश गाउँपालिकामा माओवादी तेस्रो शक्तिका रूपमा देखिन्छ ।
गठबन्धनमा राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसमेत थपिने भएकाले एमालेलाई पहिलेको अवस्था कायम राख्न पनि धेरै मिहिनेत गर्नुपर्ने हुन सक्छ । एमालेका स्थानीय स्तरका केही प्रभावशाली नेता एकीकृत समाजवादीमा लागेका छन् । त्यसैले गठबन्धन बन्यो भने यसपटक पनि एमाले एउटा गाउँपालिकामा खुम्चने सम्भावना छ ।
तर, एमालेमा लागेका रायमाझी माओवादीको एउटा शत्तिशाली समूह लैजान सफल भएका छन् । पछिल्लो समय एमालेमा प्रवेश गर्नेको संख्या उल्लेखनीय रहेकाले निर्वाचनमा त्यसको प्रभाव पनि पर्ने देखिन्छ । यस्ताेमा अर्घाखाँचीमा गठबन्धन बनेन भने एमालेले आश्चर्यजनक नतिजा निकाल्न सक्छ । त्यसबाहेक दलहरूले उठाउने उम्मेदवार र थपिएका मतदाताका कारण पनि केही परिणाम तलमाथि हुन सक्नेछ । जिल्लामा कांग्रेस र माओवादीलाई विगतको वर्चस्व बचाउनुपर्ने चुनौती छ भने एमालेलाई विगतको कमजोर प्रदर्शन सुधार्नुपर्ने दबाब छ ।
मतदाताको संख्या
आगामी वैशाख ३० गतेको स्थानीय चुनावका लागि जिल्लामा मतदाताको संख्या एक लाख ६३ हजार आठ सय १५ रहेको छ । जसमध्ये ८१ हजार चार सय ४९ जना पुरुष र ८२ हजार तीन सय ६६ जना महिला छन् । जिल्लामा गत स्थानीय चुनावमा भन्दा करिब ३६ हजार मतदाता थपिएका छन् । सबैभन्दा बढी सन्धिखर्क नगरपालिकामा १५ हजार आठ सय २६ मतदाता छन् ।
हेर्नुहोस्– अर्घाखाँचीका ६ वटै स्थानीय तहमा ०७४ सालको निर्वाचन परिणाम इन्फोग्राफमा ।






प्रतिक्रिया