संखुवासभामा एमालेलाई ‘बिरासत’ जोगाउन चुनौती, कुन-कुन पार्टीबीच हुँदै छ प्रतिस्पर्धा ?

संखुवासभामा एमालेलाई ‘बिरासत’ जोगाउन चुनौती, कुन-कुन पार्टीबीच हुँदै छ प्रतिस्पर्धा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ को पूर्वी हिमाली जिल्ला संखुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तह छन् । ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले तीन नगरसहित दुई गाउँपालिका जितेका थिए । कांग्रेसले चिचिला गाउँपालिका, धर्मदेवी नगरपालिका, पाँचखपन नगरपालिका, भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिका जितेको थियो ।

खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, मकालु गाउँपालिका, मादी नगरपालिका र सभापोखरी गाउँपालिका एमालेले जितेको थियो । गत निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, राप्रपा, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र स्वतन्त्र उम्मेदार मैदानमा थिए ।

विगतको मतपरिणाम हेर्दा अहिले कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीको प्रभाव पनि जिल्लामा छ । त्यसकारण एमालेलाई विगतको बिरासत जोगाउन ठूलै चुनौती छ ।

त्यसमाथि जिल्लामा सत्ता गठबन्धनबीच तालमेलको प्रयास पनि भएका छन्, तर सहमति भने जुटिसकेको छैन । कांग्रेस नेताहरू माओवादी र एकीकृत समाजवादीले धैरै पालिकामा दाबी गरेपछि सहमति जुट्न नसकेको बताइरहेका छन् । जिल्लामा माओवादी केन्द्र तेस्रो शक्ति हो । सत्तागठबन्धन सहयात्री जनता समाजवादी पार्टी र जनमोर्चाको प्रभाव भने जिल्लामा निकै कम छ ।

पाँच दलबीच तालमेल भएको खण्डमा र मत नकाटिएको अवस्थामा एमालेले विगत जितेका सबै पालिका गुमाउने देखिन्छ । किनकि गत निर्वाचनमा अधिकांश पालिकामा जितको अन्तर निकै कम छ । यद्यपि, जिल्लामा थपिएका नयाँ मतदाता पनि निर्णायक हुने देखिन्छ । स्थानीय तह निर्वाचनका लागि संखुवासभामा ६० हजार ६ सय ७८ पुरुष र ५७ हजार ५३ महिला गरी १ लाख १७ हजार ७ सय ३१ मतदाता छन् ।

एमालेका नेताहरूले भने पार्टी विभाजनको प्रभाव जिल्लामा नरहेको, जनप्रतिनिधिले राम्रो काम गरेको र अन्य पार्टीबाट धेरै नेता–कार्यकर्ता भित्र्याएका कारण आफूहरू पुरानै अवस्थामा रहेको दाबी गर्दै आएका छन् । जिल्लामा आगामी स्थानीय तह निर्वाचनका लागि ६ राष्ट्रिय र ११ राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका दल दर्ता छन् ।

हेर्नुहोस्, संखुवासभाका १० वटै स्थानीय तहमा ०७४ सालको निर्वाचन परिणाम इन्फोग्राफमा ।