काठमाण्डु – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्लासमेत रहेको रौतहटमा चुनावी चटारो बढेको छ । माओवादीका प्रभावशाली नेता प्रभु साह एमालेतिर लागेपछि जिल्लाको चुनाव रोचक बनेको छ । रौतहटमा १६ वटा नगरपालिकासहित १८ वटा स्थानीय तह छन् । रौतहट नेपालमै धेरै नगरपालिका भएको जिल्ला हो ।
गत चुनावको परिणामका आधारमा कांग्रेस जिल्लाको सबैभन्दा ठूलो दल हो । उसले आठवटा स्थानीय तह जितेको थियो । माओवादी र संघीय समाजवादी फोरमले चार–चार तथा राजपा र लोकतान्त्रिक फोरमले एक पालिका जितेका थिए । एमालेले भने एउटै पालिका जित्न सकेन । उसले एउटा उपमेयर मात्रै जितेको थियो । लोकतान्त्रिक फोरम मिलेपछि कांग्रेसका प्रमुखको संख्या बढेर नौ पुगेको छ ।
आगामी चुनावमा पनि यिनै दलबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । तर, प्रभु साहको एमाले प्रवेशले माओवादी भने पहिलेभन्दा कमजोर भएको छ । एमाले केही बलियो बनेको छ । वैशाख ३० गते हुने चुनावमा पनि कांग्रेस नै मजबुत देखिन्छ । प्रतिस्पर्धी दलमा आएको विभाजनले उसलाई फाइदा पुगेको छ । यदि जसपामा विभाजन नभएको भए यसपटक जिल्लामा कांग्रेसलाई ठूलो टक्कर पुग्ने अनुमान गरिएको थियो । तर, जसपासँगै एमालेमा आएको विभाजन र माओवादीका प्रभावशाली नेताको एमाले प्रवेशले कांग्रेसलाई झन् सहज भएको छ ।
मधेसका जिल्लामा मतदाता चलायमान हुने भएकाले चुनावी परिणामको आकलन गर्न अप्ठेरो छ । तर, मधेस आन्दोलनको रापतापका बीच पनि कांग्रेसका मतदाता भने अडिग देखिन्छन् । पहिले खाता खोल्न नसकेको एमालेले यसपटक तीनवटा तहमा गतिलो चुनौती दिन सक्छ । किनकि प्रभु साहको पकड रहेका र पहिले माओवादीले जितेका चारमध्ये तीनवटामा एमाले बलियो बनेको छ ।
जिल्लामा सबैभन्दा ठूलो नोक्सानी यसपटक माओवादीलाई नै हुने देखिन्छ । उसले चारमध्ये कम्तीमा तीनवटा तह गुमाउने सम्भावना छ । माधव नेपालको गृहजिल्ला भए पनि एकीकृत समाजवादीको ठूलो प्रभाव रौतहटमा देखिएको छैन । तर, एमालेभित्र भने चरम विवाद देखिन्छ । पहिलेका एमाले र माओवादीबाट गएका एमालेको बीचमा स्पष्ट दुई खेमा बनेको छ । प्रभु साहले जिल्ला अधिवेशनमा पनि एकलौटी गरेको भन्दै स्थानीय एमालेका नेताले केन्द्रमा उजुरी नै दिएका थिए ।
जिल्लामा सत्ता साझेदार दलबीच गठबन्धन नबन्ने निश्चितजस्तै भएको छ । यसले एमालेलाई केही राहत पुग्न सक्छ । तर, उसले आन्तरिक विवाद समाधान गर्न नसके फेरि पनि पहिलेकै जस्तो ठक्कर खान सक्छ । समग्रमा रौतहटमा फेरि पनि कांग्रेसले वर्चस्व जमाउने देखिन्छ । जसपाका लागि पहिलेकै तह बचाउनु ठूलो उपलब्धि हुनेछ । माओवादी घाटामा र एमाले फाइदामा जाने सम्भावना छ ।
जिल्लामा ४ लाख ७ हजार ९ सय ९२ मतदाता छन् ।
०७४ सालको परिणाम
गरुडा नगरपालिका– मेयर (समाजवादी फोरम), उपमेयर (कांग्रेस)
चन्द्रपुर नगरपालिका– मेयर (कांग्रेस), उपमेयर (एमाले)
ईशनाथ नगरपालिका– मेयर–उपमेयर (लोकतान्त्रिक फोरम)
कटहरिया नगरपालिका– मेयर–उपमेयर (माओवादी)
गढीमाई नगरपालिका– मेयर–उपमेयर (कांग्रेस)
गुजरा नगरपालिका– मेयर–उपमेयर (राजपा)
गौर नगरपालिका– मेयर–उपमेयर (राजपा)
दुर्गा–भगवती गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (कांग्रेस)
देवाही–गोनाही नगरपालिका– मेयर (समाजवादी फोरम), उपमेयर (माओवादी)
परोहा नगरपालिका– मेयर–उपमेयर (कांग्रेस)
फतुवा विजयपुर नगरपालिका– मेयर (कांग्रेस), उपमेयर (माओवादी)
बौधीमाई नगरपालिका– मेयर–उपमेयर (समाजवादी फोरम)
माधवनारायण नगरपालिका– मेयर¬¬ (समाजवादी फोरम), उपमेयर (माओवादी)
मौलापुर नगरपालिका– मेयर–उपमेयर (माओवादी)
यमुनामाई गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (माओवादी)
राजदेवी नगरपालिका– मेयर (कांग्रेस), उपमेयर (समाजवादी फोरम)
राजपुर नगरपालिका– मेयर–उपमेयर (कांग्रेस)
वृन्दावन नगरपालिका– मेयर–उपमेयर (कांग्रेस)






















प्रतिक्रिया