काठमाण्डु – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले १७ चैत ०७८ मा स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच तालमेल गर्ने प्रस्ताव गरे । देउवाको प्रस्तावमा सत्ता गठबन्धनका दलहरुले पनि सहमति जनाए ।
तर केन्द्रको निर्णयबमोजिम स्थानीय तहमा तालमेल हुन सकेन । चुनावी तालमेललाई लिएर स्थानीय तहका नेता कार्यकर्ताले असन्तुष्टि जनाए । गठबन्धन भन्दा बाहिरका दलसँग तालमेल गरे ।
केन्द्रको निर्णय अवज्ञा गरेपछि वैशाख १६ गते शुक्रबार बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्न सबै जिल्लाहरुलाई निर्देशन दिएको थियो । तर, स्थानीय पार्टी तथा कार्यकताको चाहनाअनुसार देशका विभिन्न स्थानमा केन्द्रीय गठबन्धनको निर्देशन अवज्ञा भएको छ । पाँच दलमा आवद्ध रहेका दलहरुले मुलुकका विभिन्न स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेका छन् ।
बाजुराको बुढीनन्दा, प्युठानको झिमरुक, सिन्धुपाल्चोकको सुनकोशीलगायत केही पालिकामा माओवादीले एमालेसँग चुनावी तालमेल गरेको छ । त्यस्तै झापाको कचनाकबल र रोल्पाको माडीमा एमाले–कांग्रेसबीच तालमेल हुने भएको छ । केन्द्रको निर्देशनलाई अटेर गर्दै स्थानीय पार्टी कमिटीले सन्धुपाल्चोकको मेलम्चीमा कांग्रेस–राप्रपा तालमेल गरेका छन् ।
झापाको दमकमा गठबन्धन र राप्रपाले तालमेल कायमै राखेका छन् । त्यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा एमाले र जसपाबीच गठबन्धन कायम रहेको छ । नुवाकोटको किस्पागं गाँउपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ भने सल्यानको कुमाखमा एमाले–काङ्ग्रेसको गठबन्धन बनेको छ ।
कतिपय स्थानमा भने गठबन्धन दलबीच तालमेल नै हुन सकेन । गठबन्धनले तालमेलका लागि निर्वाचन तयारी तथा अनुगमन समिति नाम दिएको समिति संयोजक रामचन्द्र पौडेल हुन् । र, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तालमेलको जोडबलकर्ता हुन् ।
तर, यी तीनै जना शीर्ष नेताको गृह जिल्लामै गठबन्धन भत्कियो । तालमेल भएन । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले एक्लाएक्लै मनोनयन दर्ता गराए । देउवाको डडेल्धुरा, पौडेलको तनहुँ र नेपालको रौतहट गृह जिल्ला हो ।
गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा भने तालमेल भएको छ । यद्यपि, त्यहाँ कांग्रेसबाट केन्द्रको सहमतिविपरीत बागी उम्मेदवारी परेको छ । यसरी तीन शीर्ष नेताको गृह जिल्लामा दलहरूबीच तालमेल नहुनुलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।




प्रतिक्रिया