मुस्ताङमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

मुस्ताङमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा पाँच गाउँपालिका छन् । यहाँ एउटा पनि नगरपालिका छैन । ०७४ को स्थानीय निर्वाचनमा पाँच पालिकामध्ये तीनवटा जितेर कांग्रेस पहिलो शक्ति बनेको थियो ।

एमालेले एक र स्वतन्त्रले एक पालिका जितेका थिए । त्यसकारण वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुनेछ । किनभने घरपझोङ गाउँपालिकाका ६ वडामा अध्यक्ष र सदस्यहरूको एकल उम्मेदवारी परेपछि निर्विरोध भइसकेका छन् । निर्विरोध हुनेमा मुख्यतः एमाले र कांग्रेसका उम्मेदवार छन् ।

अहिले जिल्लामा एकीकृत समाजवादीको पनि केही प्रभाव देखिन्छ । निर्विरोध हुने वडासदस्यमा माओवादी र एकीकृत समाजवादीका उम्मेदवार पनि छन् । निर्वाचनमा सहभागी हुन कांग्रेस, एमालेबाहेक माओवादी र एकीकृत समाजवादीबाट पनि उम्मेदवारी दर्ता भएको छ । केही पालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल पनि भएको छ ।

०७४ को निर्वाचनमा कांग्रेसले थासाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यहाँ अध्यक्षमा ५९ मतान्तरले एमालेका उम्मेदवार पराजित भएका थिए । माओवादी केन्द्रसँग तालमेल भए यो पालिकामा अहिले पनि गठबन्धनले सजिलै जित हासिल गर्ने देखिन्छ । लोमाङथान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसले नै जितेको थियो । कांग्रेससँगको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार र माओवादी केन्द्र थियो । उपाध्यक्षको प्रतिस्पर्धामा भने कांग्रेस र एमाले मात्रै थिए ।

यसबाहेक बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पनि कांग्रेस जितेको थियो । यो पालिकामा कांग्रेसका उम्मेदवारले १६ मतान्तरले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । एमालेले १७ मत अन्तरले उपाध्यक्ष जितेको थियो । गत निर्वाचनमा यो पालिकाभरिमा माओवादी उम्मेदवार थिएनन् । केही वडामा स्वतन्त्र उम्मेदवार भने थिए ।

एमालेले घरपझोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो । अध्यक्षमा ३७ मतान्तरले कांग्रेसका उम्मेदवार पराजित भएका थिए । यहाँ स्वतन्त्र उम्मेदवार २३६ मत ल्याएर तेस्रो भएका थिए भने चौथो शक्ति माओवादी हो । दालोमे गाउँपालिका अध्यक्ष भने स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

प्रतिस्पर्धामा कांग्रेसका उम्मेदवार थिए । उपाध्यक्षमा भने कांग्रेसलाई पराजित गर्दै एमालेका उम्मेदवारले जित हासिल गरेका थिए । जिल्लामा राप्रपा पनि चुनावमा सहभागी थियो । मुस्ताङमा स्थानीय निर्वाचनका लागि १० हजार ४ सय ८५ मतदाता छन् । यसमध्ये ५ हजार १ सय २८ पुरुष र ५ हजार ३ सय ५६ महिला मतदाता छन् । १ जना अन्य छन् ।