काठमाण्डु – ललितपुरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ ।
जसपाका जिल्ला अध्यक्ष जीवन लामा ‘जिमी’ ले आइतवार एक विज्ञप्ति जारी गर्दै ठूला दुई दल नेपाली कांग्रेस र नेकपा माओवादीले केन्द्रीय गठबन्धनको समेत मर्म, भावनाविपरीत गएकाले पाँच दलबाट बाहिरिने निर्णय भएको जानकारी दिएका छन् ।
यसअघि शनिबार जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनले आफूहरुलाई न्यूनीकरण गरेको भन्दै असन्तुष्टि जनाएका थिए । यही सन्दर्भमा ललितपुरमा गठबन्धनका घटकमध्ये कांग्रेस र माओवादी केन्द्रले आफूहरुसँग तालमेलको पहल नगरी अहंकार र अलोकतान्त्रिक तरिकाले एकलौटी निर्णय गरेको दाबी जसपाले गरेको छ ।
‘अब यो जिल्लाको गठबन्धनभित्र जसपा (ललितपुर निर्वाचन क्षेत्र न.–१ समन्वय समिति गोदावरी नगरपालिका, बागमती, महाकाल, कोन्ज्योसोम गाउँपालिका) बसिरहनुको औचित्य समाप्त भएकाले आजको मितिबाट बाहिरिने निर्णय गरिएको छ’, लामाले विज्ञप्तिमा भनेका छन्, ‘ललितपुरका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको यस रवैयाप्रति आपत्ति छ। स्थानीय तह निर्वाचन परिणामको जवाफदेही तिनै दलहरू हुनेछन्। यस आसन्न निर्वाचनमा जसपा ललितपुर निर्वाचन क्षेत्र नं –१ एकल, स्वस्थ र मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुनेछ ।’





प्रतिक्रिया