काठमाण्डु – माओवादीको सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावितमध्येको जिल्ला हो रोल्पा । हाल लुम्बिनी प्रदेशमा पर्ने यो जिल्लामा चुनावी जोडघटाउ चलिरहेको छ ।
विप्लव समूहले पनि स्वतन्त्र उम्मेदवारी दिएकाले रोल्पाको चुनावले धेरैको ध्यान खिचेको छ । माओवादीका प्रभावशाली नेता वर्षमान पुनको गृहजिल्लासमेत रहेको रोल्पामा एक नगरपालिकासहित १० वटा स्थानीय तह छन् । विगतका चुनावका आधारमा जिल्लामा माओवादीकै वर्चस्व देखिन्छ ।
०७४ सालको चुनावमा माओवादीले जिल्लाका सातवटा पालिका जितेको थियो । एमालेले दुई र कांग्रेसले एउटा पालिकामा चित्त बुझाएका थिए । माओवादीले रोल्पा नगरपालिकाको मेयर–उपमेयरसहित थबाङ, परिवर्तन, माडी, गंगादेव, सुनछहरी र सुनीलस्मृति गाउँपालिकामा एकलौटी जित निकालेको थियो । एमालेले त्रिवेणी र रुन्टीगढी तथा कांग्रेसले लुङग्री गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जिते ।
आगामी वैशाख ३० गते हुने चुनावका लागि रोल्पामा सत्ता साझेदार दलबीच गठबन्धन बनेको छैन । बरु अन्यत्रभन्दा यहाँ फरक यो छ कि कतिपय पालिकामा एमाले, कांग्रेस र विप्लव समूहबीच तालमेल भएको छ । केन्द्रबाट गठबन्धनबाहिर तालमेल गर्न नपाइने भनिए पनि रोल्पामा भने कार्यान्वयन भएको छैन ।
सुनछहरी र थबाङ गाउँपालिका अध्यक्षमा कांग्रेस र एमालेले विप्लव समूहका स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका छन् । यस्तै, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । परिवर्तन गाउँपालिकामा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ ।
सुनीलस्मृति गाउँपालिकामा कांग्रेसले राप्रपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ । माओवादीले पनि केही पालिकामा तालमेल गरेको छ । उसले गंगादेवमा एकीकृत समाजवादीसँग तथा रुन्टीगढीमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ ।
कांग्रेस, एमाले र विप्लव समूहबीच तालमेल भएका पालिकामा गत चुनावमा माओवादीले फराकिलो अन्तरको जित निकालेको थियो । त्यसवेला पनि माओवादीविरुद्ध सबै दल मिलेका थिए । गंगादेव मात्रै यस्तो पालिका हो जहाँ कांग्रेस र एमाले मिलेमा माओवादी पछि पर्न सक्छ । यसबाहेक माओवादीले पहिले कम मतान्तरले हारेको रुन्टीगढीमा यसपटक एकीकृत समाजवादी र राजमोसँग मिलेर बाजी मार्ने योजना बनाएको छ । एकीकृत समाजवादीले तीन–चार सय मत काट्यो भने यो गाउँपालिका एमालेबाट फुत्कन सक्छ ।
समग्रमा रोल्पामा माओवादी नै मजबुत देखिन्छ । अन्य दलको तालमेलले उसलाई ठूलो नोक्सानी हुने देखिँदैन । जिल्लामा आगामी चुनावका लागि १ लाख ४५ हजार ४ सय ४४ मतदाता छन् । तीमध्ये ७१ हजार ९ सय ३४ पुरुष र ७३ हजार ५ सय १० महिला छन् ।














प्रतिक्रिया