गृहमन्त्री खाँण र विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीमा एमाले र जसपालाई पुरानो नतिजा दोहोर्‍याउने चुनौती

गृहमन्त्री खाँण र विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीमा एमाले र जसपालाई पुरानो नतिजा दोहोर्‍याउने चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देही नेपालकै ठूलो स्थानीय तहमध्येको एक हो । यो जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह छन् ।

जिल्लाको उत्तरी भेगमा कांग्रेस र एमाले तथा दक्षिणी भेगमा बहुपक्षीय प्रतिस्पर्धा देखिन्छ । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण तथा एमालेका उपाध्यक्ष विष्णु पौडैलको चुनावी क्षेत्रसमेत रहेको रुपन्देही जिल्ला लुम्बिनी प्रदेशकै राजनीतिको केन्द्र पनि हो । गत चुनावको नतिजाका आधारमा जिल्लामा एमाले पहिलो दल हो । तत्कालीन संघीय समाजवादी फोरम दोस्रो र कांग्रेस तेस्रो दलका रूपमा देखिन्छ ।

०७४ सालको चुनावमा एमालेले सात, तत्कालीन फोरम र हालको जनता समाजवादी पार्टीले चार, कांग्रेसले दुई तथा माओवादी, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक–एक स्थानीय तह जितेका थिए । फोरम लोकतान्त्रिक कांग्रेसमा मिसियो भने स्वतन्त्र जितेका मेयर पनि जनता समाजवादीमा लागे ।

एमालेले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकाको मेयर–उपमेयर नै जित्यो । उसले कञ्चन, शुद्धोधन र सियारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष पनि जित्यो । संघीय फोरम कोटहीमाई, गैडहवा र मर्चवारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा रोहिणी गाउँपालिकाको अध्यक्ष जित्न सफल भयो ।

कांग्रेसले देवदह नगरपालिकाको मेयर तथा मायादेवी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जित्यो । माओवादीले ओमसतियाको अध्यक्ष–उपाध्यक्ष तथा लोकतान्त्रिक फोरमले सम्मरीमाईको अध्यक्ष जिते । लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र रूपमा मनमोहन चौधरीले मेयर जिते । उपमेयर भने संघीय फोरमले जित्यो । पछि चौधरी पनि फोरम हुँदै जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य बने । उम्मेदवारी मनोनयनको एक दिनअघि उनी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेर फेरि उठेका छन् ।

आगामी चुनावमा बुटवल उपमहानगरपालिकामा केन्द्रबाटै सत्ता साझेदार दलबीच तालमेल भएको छ । त्यहाँ कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयरका उम्मेदवार उठाएका छन् । एमालेले बाबुराम भट्टराई तथा कांग्रेसले गठबन्धनका तर्फबाट खेलराज पाण्डेलाई अघि सारेको छ । एकीकृत समाजवादीको पनि केही प्रभाव रहेकाले बुटवलमा तीव्र प्रतिस्पर्धा हुने अनुमान छ । बुटवल एमाले उपाध्यक्ष पौडेलको चुनावी क्षेत्रमा पर्छ ।

गृहमन्त्री बालकृष्ण खाणको क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकामा एमाले र कांग्रेसबीच सीधा प्रतिस्पर्धा देखिन्छ । त्यहाँ बालकृष्णका भाई रामकृष्ण कांग्रेसबाट र पत्रकारसमेत रहेका मोहन चापागाईं एमालेबाट मेयरका उम्मेदवार छन् । सिद्धार्थनगरमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । दुई दल मिल्दा यो नगरपालिकामा एमालेलाई जित्न कठिन भएको छ ।

उत्तरी क्षेत्रका पालिकामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । दक्षिणी क्षेत्रमा भने एमाले कमजोर छ । उसले केही जनप्रतिनिधि पार्टीमा भित्र्याएर प्रभाव विस्तार गर्न खोजेको छ । तर, मुख्य प्रतिस्पर्धा भने कांग्रेस र जनता समाजवादी पार्टीको बीचमा देखिन्छ । लोकतान्त्रिक फोरमसमेत मिलेकाले यसपटक कांग्रेस केही मजबुत देखिन्छ ।

तर, उम्मेदवारको प्रभावका कारण पनि ठूलो मत तलमाथि हुने भएकाले दक्षिणी क्षेत्रका एक दर्जन पालिकाको परिणाम आकलन गर्न गाह्रो छ । तर, जसपा र कांग्रेसले नै धेरै पालिका जित्ने भने निश्चित नै छ । यसपटक जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगर भने एमालेबाट फुत्कन सक्छ । अन्यत्र भने तीव्र प्रतिस्पर्धा देखिन्छ । समग्रमा जिल्लामा एमाले र जनता समाजवादी पार्टीलाई अघिल्लो चुनावको नतिजा दोहोर्‍याउने चुनौती देखिन्छ । आगामी चुनावका लागि जल्लामा ६ लाख ३२ हजार ३ सय ६० मतदाता छन् ।