काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल समूहबीच भेटवार्ता भएको छ । बिहीबार बिहान उम्मेदवार जगन्नाथ पौडेल समूहले भरतपुरको सिराइचुली होटलमा पुगरे नेता पौडेललाई भेटेका हुन् ।
नेता पौडेलले लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बाध्यता रहेको भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर जगन्नाथ समूहले भने कांग्रेस बचाउन आफूहरुले उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिन नसकिने अडान राखेको छलफलमा सहभागी एक नेताले बताए ।
यसअघि पनि जगन्नाथको उम्मेदवारी फिर्ता गराउन गठबन्धनले निरन्तर प्रयास गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँण जगन्नाथलाई फकाउन दुई दिन चितवनमै बसेका थिए भने जिल्ला तहका नेताहरुले पनि निरन्तर प्रयास गरेका थिए । त्यस्तै देउवाले राज्यमन्त्री उमेश श्रेष्ठ र नेता शंकर भण्डारीलाई देउवाले पौडेलकै घरमा भेट्न पठाएका थिए । उनीहरूले उममेदवारी फिर्ता लिन आग्रह पनि गरे तर पौडेल टसमस भएनन् ।
गठबन्धनले मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएपछि कांग्रेसका पुराना नेता जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलसँगको भेटलगत्तै जगन्नाथ समूह चुनावी अभियानमा निस्किएको छ ।
‘हामी सभापति तथा प्रधानमन्त्रीज्युलाई भेट्ने भनेर गएका हौं । तर, उहाँसँग भेट हुन सकेन । रामचन्द्रजी भेट हुनु भयो । उहाँले केहीबेर लाग्छ बस्नुस्, बस्नुस् भन्नु भएको थियो । तर, हाम्रो चुनावी कार्यक्रम ज्योतिनगरमा तय भएको हुँदा धेरैबेर बस्न सकेनौं,’ भेटघाट टोलीका भीमबहादुर श्रेष्ठले भने । आफूहरुको आज दिनभर प्रचार प्रसारको कार्यक्रम भएको हुँदा भेट्न चाहेमा अब साँझ मात्रै समय हुने बताएर निस्केको श्रेष्ठले बताए ।
टोलीमा मेयरका उम्मेदवार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेल पनि सहभागी थिए । मेयर पद कांग्रेसले नै पाउनुपर्दछ भन्ने अडानमा रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरु मेयर पद माओवादीले पाएपछि असन्तुष्ट छन् । विसं २०४९ सालमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख र ५४ सालमा राष्ट्रिय सभाका सांसद रहेका जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएपछि पार्टी पंक्ति उनलाई मनाउन लागेको छ ।
सत्तारुढ गठबन्धनले आज दिउँसो भरतपुरमा संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा हिजो बुधबार साँझ नै भरतपुर आएर असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरुलाई भेटघाट गरेका छन् । तर पौडेलसँग भने उनको अहिलेसम्म भेट भएको छैन ।
उम्मेदवारी फिर्तादेखि पौडेल निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् । पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् ।




प्रतिक्रिया