स्थानीय निर्वाचन : गृह जिल्लामा देउवालाई शक्ति देखाउने अवसर

स्थानीय निर्वाचन : गृह जिल्लामा देउवालाई शक्ति देखाउने अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु – डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै हाेमिएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा नेपाली कांग्रेस चुनावमा एक्लै होमिएको हो ।  देउवाको गृह जिल्ला भएका कारण पनि डडेल्धुरामा स्थानीय तहको चुनावलाई चासोका साथ हेरिएको छ ।  

डडेल्धुरामा दुई नगरपालिकासहित सातवटा स्थानीय तह छन् । २०७४ सालको चुनावमा जिल्लाका धेरै स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको थियो ।  जिल्लाका सातमध्ये कांग्रेसले चारवटा पालिका जितेको थियो भने एमालेले दुई र माओवादीले एउटामा जित निकालेका थिए ।

२०७९ को स्थानीय तहको चुनावमा पनि कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तुलनामा डडेल्धुरामा नेपाली कांग्रेस पहिलेभन्दा कमजोर बनेको चर्चा छ ।  नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुराको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्ल पक्षले नेपाली कांग्रेस विपीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ ।  

स्थानीय तहको निर्वाचनमा कांग्रेस भित्रको कर्ण मल्ल पक्ष विभाजित भएपछि कांग्रेस सभापति देउवा लाई आफ्नै गृह जिल्लामा ठुलो झट्का लागेको हो । त्यस कारण पनि स्थानीय तहको निर्वाचनमा आफ्नै गृह जिल्लामा नेपाली कांग्रेसलाई पहिलो दल बनाउनको लागि देउवालाई चुनौति थपिएको छ । स्थानीय तहको चुनावमा देउवाले आफ्नो गृह जिल्लामा पार्टीको अस्तित्व जोगाउलान् भन्ने प्रश्नसमेत खडा भएको छ । तर अर्को तिर भने नेपाली कांग्रेललाई स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा आफ्नो शक्ति देखाउने अवसर पनि मिलेको छ । 

सात वटै पालिकामा कहाँ कुन पार्टीको उम्मेदवार ?

अमरगढी नगरपालिकाको मेयरका लागि कांग्रेसले डिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकाललाई मैदानमा खडा गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट अमरगढीको नगर प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शसी अवस्थी, नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत नगर प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गरेको जनाइएको छ ।

त्यसैगरी जिल्लाको ठुलो परशुराम नगरपालिकाको नगर प्रमुख पदका लागि नेपाली कांग्रेसले युवा नेता भरत जोशी, उपप्रमुखमा कलावती बोहरालाई उम्मेदवार बनाएको छ ।  नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा बिमला महता, नेकपा एमालेबाट नगर प्रमुख केशव बोहरा र उपप्रमुख गौमती पन्तले मनोनयन दर्ता गरेका छन् । एकिकृत सामाजवादीबाट परशुरामको नगरप्रमुखमा लालबहादुर दमाइ र उपप्रमुखमा कमला धामी चुनावी मैदानमा होमिएका छन् ।

त्यस्तै अजयमेरु गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल, नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली काग्रेस विपिबाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रसाद भट्ट (विकाश), उपाध्यक्ष कलावती भाँड उम्मेदवार बनेका छन् ।

त्यस्तै नवदुर्गा गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा लक्ष्मी अवस्थी, उपाध्यक्ष निर्मला बिष्ट बोगटी, नेपाली काग्रेस विपिबाट अध्यक्ष गोकुल शाही, उपाध्यक्षमा नेकपा एमालेबाट बीरबहादुर बिष्ट, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष कबिन्द्र बहादुर बिष्ट, उपाध्यक्ष चन्द्रा रुपाली, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा धर्म बिक, विस्ना बोहरा उम्मेदवार बनेका छन् ।  

त्यस्तै आलिताल गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा बलबहादुर गुरुङ, उपाध्यक्ष जला बोगटी, नेकपा एमालेबाट अध्यक्ष मिन बोगटी, उपाध्यक्ष शान्ति भट्ट जोशी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेर पार्की, उपाध्यक्ष मन्जु रावल, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा उपाध्यक्ष लक्ष्मी धामी, स्वतन्त्रबाट टेक खड्काले मनोनयन दर्ता गरेका छन् । 

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा ईन्द्र कार्की, उपाध्यक्षमा ज्ञानु सेटी, नेकपा एकिकृत समाजवादी अध्यक्षमा नरबहादुर बिष्ट, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, नेपाली काग्रेस विपिबाट अध्यक्षमा सुरेन्द्र माली, नेकपा एमालेबाट उपाध्यक्षमा ईन्द्र महराले उम्मेदवारी दिएका छन् ।

यता भागेश्वर गाउँपालिकामा नेपाली काग्रेसले अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पदका लागि पुष्पा ठकुराठीलाई चुनावी मैदानमा उतारेको छ ।  नेकपा एमालेबाट रामबहादुर शाही, उपाध्यक्ष नेपाली काग्रेस विपिबाट नरबहादुर ठकुराठी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णु बहादुर ठकुराठीले मनोनयन दर्ता गरेका छन् ।

दुई वटै नगरपालिकामा कांग्रेसलाई चुनाव जित्न सकस 

जिल्लाको सबै भन्दा ठुलो परशुराम नगरपालिकामा २०७४ सालको चुनावमा नगर प्रमुखमा नेपाली कांग्रेसबाट भिमबहादुर साउद विजयी भएका थिए ।  २०७९ सालको चुनावमा नगरप्रमुख पदका लागि नेपाली कांग्रेसले युवा नेता भरत जोशीलाई उम्मेदवार बनाएको छ । यता माओवादी केन्द्रबाट शेरसिंह माल ‘डायमण्ड’ र नेकपा एमालेबाट केशब बहादुर बोहरा मैदानमा उत्रिएका छन् ।  

परशुराममा कांग्रेसका लागि मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र हो । डायमण्ड २०७४ सालको स्थानीय तहकाे चुनावमा नेपाली कांग्रेसका उम्मेदवार साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए । साउदले ४ हजार ६ सय २९ र मालले ४ हजार ८४ मत ल्याएका थिए । हालको चुनावमा भने मेयर पदका उम्मेदवार डायमण्डले आफूनै विजयी हुने दावी गर्दै आइरहेका छन् । परशुराम नगरपालिमा डायमण्डको चुनावी माहोल पनि निकै वलियो दिएको छ ।

त्यसैगरी डडेल्लधुराको अमरगढी नगरपालिकामा पनि नेपाली कांग्रेसलाई जित निकाल्न चुनौति थपिएको छ । नेपाली कांग्रेसबाट अलग्गिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेको कर्ण मल्ल पक्षको कारणले गर्दा पनि अमरगढी नगरपालिकामा नेपाली कांग्रेस कमजोर बनेको हो । अमरगढीमा नेपाली कांग्रेसबाट अलग्गिएको कर्ण मल्ल पक्षको चनावी माहोल पनि निकै बलियो देखिएको स्रोतको दावी छ ।