बाँकेमा गठबन्धन बलियो, पुरानै नतिजा दोहाेर्‍याउन एमालेलाई सकस

बाँकेमा गठबन्धन बलियो, पुरानै नतिजा दोहाेर्‍याउन एमालेलाई सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशको तराईको जिल्ला बाँकेमा पनि वैशाखको गर्मीसँगै चुनावी पारो पनि बढेको छ । देशकै सबैभन्दा बढी गर्मी हुने यो क्षेत्रमा अहिले चुनावका कारण अरू विषय ओझेलमा छन् । बाँकेमा एक उपमहानगर र एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् ।

जिल्लामा कांग्रेस, एमाले, माओवादी र जसपा मुख्य प्रतिस्पर्धी दल हुन् । केही पालिकामा राप्रपाको पनि उल्लेख्य मत छ । ०७४ सालको परिणामका आधारमा बाँकेमा एमाले ठूलो दल हो । उसले चारवटा पालिका जितेको थियो भने कांग्रेसले दुई तथा राप्रपा र तत्कालीन संघीय समाजवादी फोरमले एक–एक तहमा बाजी मारेका थिए ।

एमालेले खजुरा, जानकी र बैजनाथ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जितेको थियो । उसले कोहलपुर नगरपालिकाको मेयर पनि जित्यो । कांग्रेसले डुडुवा र राप्ती–सोनारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा उपमेयर पनि जितेको थियो । नरैनापुर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष फोरमले जित्यो । राप्रपा नेपालगन्ज उपमहानगरको मेयर जित्न सफल भयो ।

आगामी स्थानीय तह चुनावका लागि सत्ता साझेदार दलले केन्द्रबाटै गरेको तालमेलअनुसार नेपालगन्ज उपमहानगरको मेयर कांग्रेसको भागमा परेको छ । उपमेयर जसपाले लिएको छ । गठबन्धनबाट मेयरमा प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दिन राई उठेका छन् । एमालेले स्वतन्त्र समूहबाट पार्टीमा भित्रिएका पशुपतिदयाल मिश्रालाई मेयरको उम्मेदवार बनाएको छ ।

पार्टीको संगठन कमजोर रहे पनि मिश्राको व्यक्तिगत प्रभाव नेपालगन्ज क्षेत्रमा छ । राप्रपाले अघिल्लोपटक माओवादीबाट लडेका व्यवसायी नन्दलाल वैश्यलाई रातारात पार्टी प्रवेश गराएर मेयरमा अघि सारेको छ । तर, राप्रपाले गत चुनावमा संगठनभन्दा पनि धवलशमशेर राणाको व्यक्तित्वका कारण चुनाव जितेको मानिन्छ । नगर क्षेत्रमा सांगठनिक रूपमा कांग्रेस नै बलियो छ । अघिल्लो चुनावको मतका आधारमा कांग्रेस, माओवादी र जसपाको मत जोड्दा विजयी राणाको भन्दा निकै बढी हुन्छ ।

त्यसैले उपमहानगरमा यसपटक गठबन्धनका उम्मेदवारकै पल्ला भारी देखिन्छ । बाँके जिल्लाभर नै गठबन्धन बनेको छैन । स्थानीय रूपमा भने केही पालिकामा कांग्रेस र माओवादी मिलेका छन् । खजुरामा माओवादीको अध्यक्ष र कांग्रेसको उपाध्यक्ष छ । एमालेले जितेको यो पालिकामा अघिल्लो चुनावमा माओवादी दोस्रो थियो । कांग्रेससँग मिलेपछि अब एमालेलाई निकै कठिन हुने देखिएको छ ।

कोहलपुर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा छ । फोरम लोकतान्त्रिक गाभिएपछि कांग्रेस पहिलेभन्दा मजबुत भएको छ । झिनो मतान्तरले जितेको जानकी गाउँपालिकामा पनि एमालेलाई यसपटक सहज छैन । डुडुवामा कांग्रेस र जसपाबीच प्रतिस्पर्धा छ । नरैनापुरमा कांग्रेस, एमाले र जसपाबीच त्रिपक्षीय भिडन्त छ । बैजनाथमा एमाले बलियो छ । राप्ति–सोनारीमा पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ ।

समग्रमा बाँकेमा यसपटक एमाले र कांग्रेसको अवस्था उस्तै हुने सम्भावना छ । एमालेलाई पहिलको नतिजा दोहोर्‍याउन कठिन छ । कांग्रेसलाई उपमहानगर नै फाइदा हुन सक्छ । कांग्रेससँग मिलेर यसपटक खजुराबाट माओवादीले खाता खोल्न सक्छ । बाँकेमा आगामी चुनावका लागि ३ लाख २९ हजार ४ सय ७३ मतदाता छन् । तीमध्ये १ लाख ६७ हजार ३ सय ४९ पुरुष र १ लाख ६२ हजार १ सय १७ महिला छन् ।