काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयको शुक्रबार बसेको बैठकले गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय गरेको हो ।
साथै बैठकले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द्र तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेको छ ।
बैठकले बागी उम्मेदवारकाबारे हरेक दलले एक अर्कालाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरू बीचमा असमझदारी सिर्जना भएमा आपासी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय समेत गरिएको छ ।
त्यस्तै स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरूबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहनेछ ।
पाँच दलीय गठबन्धनको यसअघिको बैठकले बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारवाही गर्ने निर्णय गरेको थियो । बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिने बागीलाई सम्बन्धित पार्टीले कारवाही गर्न निर्देशन दिएको थियो ।





प्रतिक्रिया