स्थानीय निर्वाचन : कंचनपुरको बेल्डाडी गाउंपालिकामा यस्तो छ चुनावी हिसाव किताव

स्थानीय निर्वाचन : कंचनपुरको बेल्डाडी गाउंपालिकामा यस्तो छ चुनावी हिसाव किताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर— स्थानीय तहको निर्वाचन नजिक आउंदै गर्दा कंचनपुरमा चुनावी सरगर्मी बढेको छ । कंचनपुरमा ९ वटा स्थानीय तह छन् । यहा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नभएपनि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भने केही स्थानीय तहमा गठबन्धन बनेको छ ।

कंचनपुरका सबै स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा छ । कंचनपुरको बेल्डाडी गाउंपालिकामा समेत एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा छ । तर, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने गरी जुटेका छन् । बेल्डाडीमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार उठाएको छ भने समाजवादीका उम्मेदवार भने वडामा मात्र सिमित छन् ।

बेल्डाडीमा एमालेबाट अक्कल विष्ट, माओवादी केन्द्रबाट ईश्वरी भट्ट, नेपाली कांग्रेसबाट हरिशचन्द्र राना र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाह चुनावी मैदानमा छन् ।

विष्ट, भट्ट र राना तिनै जना पहिलो पटक चुनावमा उत्रिएका हुन् । उनिहरुमध्ये विष्ट र भट्ट एमाले र माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य हुन् भने राना कांग्रेसको जिल्ला उपसभापति हुन् । स्वतन्त्रमा उठेका शाह यसअघि माओवादी केन्द्रबाट वडानम्बर १ बाट अध्यक्षका उम्मेदवार भएर पराजित भएका थिए । उनले ४ सय ८६ मत पाएर दोस्रो भएका थिए । शाह हाल स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।

बेल्डाडी गाउंपालिकामा यसअघि अध्यक्ष र उपाध्यक्षसहित चार वडा एमालेले जितेको थियो भने एक वडा मात्र कांग्रेसले जितेको थियो । यहां एमाले विभाजनको असर समेत शुन्य छ । तर, माओवादी केन्द्रबाट भने अधिकांश नेता कार्यकर्ता नेकपा विभाजनसंगै एमालेमै बसेका छन् । यसको समेत एमालेलाई लाभ हुने देखिन्छ ।

एमालेबाट निर्वाचित धनबहादुर थापाले ३२१५, दोस्रो भएका नेपाली कांग्रेसका चन्द्रबहादुर सिंहले २५९६,माओवादी केन्द्रका भुवन एसकेले ८३३ र अन्तिम रहेका राजबहादुर चौधरीले ५७४ मत पाएका थिए । चौधरी अहिले एमालेमा प्रवेश गरेका छन् । त्यसैले यो मतले एमालेलाई बेल्डाडीमा बलियो बनाएको छ ।

बेल्डाडीमा अहिले १४ हजार ७ सय ३७ मतदाता छन् । यसअघि ११ हजार ७ सय ५९ मत थियो भने ७ हजार ३ सय ८४ मत सदर भएको थियो । अहिले बेल्डाडीमा मुख्यगरी विष्ट र रानाबीच नै प्रतिस्पर्धा देखिन्छ । माओवादीबाट उम्मेद्धवार रहेका भट्ट यसअघि कांग्रेस पृष्ठभुमिकै हुन् । उनले कांग्रेसकै मत काट्ने सम्भावना छ ।

भट्ट समेत मतदाता रहेको दुई नम्बर वडामा निर्णायक ४ हजार ३ सय ८३ मत छ । त्यसमा उनले अरु उम्मेदवारभन्दा बढीमत पाउने सम्भावना छ । यदी उनले एकलौटी आधा मत पाए उनले समेत जित्ने सम्भावना छ । तर, सांगठनिक मत कमजोर भएकाले उनले जित्नेमा सम्भावना कम रहेको आंकलन गर्न थालिएको छ ।

त्यसमाथि स्वतन्त्र उम्मेदवार रहेका शाहले समेत कांग्रेस र माओवादीकै मत काट्ने सम्भावना छ । उनले पनि ४ सय मतभन्दा बढी ल्याउन सक्ने आंकलन छ । त्यसो गर्दा एमालेका उम्मेदवारलाई फाइदा पुगेपनि एमालेभित्रको कलह व्यवस्थापन विष्टकै लागि मुख्य चुनौतिका रुपमा छ । बेल्डाडीमा कांग्रेस र माओवादीभित्र पनि ठुलो विवाद छ । एमालेमा अध्यक्षका प्रतिस्पर्धी रहेका गणेश उपाध्यक्ष भने विष्टलाई जिताउन कम्मर कसेर लागेका छन् ।