भरतपुरको अभिव्यक्ति विवादमा तानिएपछि प्रचण्डले बोली फेरे

भरतपुरको अभिव्यक्ति विवादमा तानिएपछि प्रचण्डले बोली फेरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको पाँच दलीय गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् ।  आइतबार गठबन्धन दलहरूले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनले निर्वाचनमा विजय नभए देश दुर्घटनामा जाने दावी गरेका हुन् ।

उनले यस भन्दाअघि चितवनमा आयोजित कार्यक्रममा हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका थिए ।  गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने दावी गरेका थिए । चितवनमा सो अभिव्यक्ति दिएपछि प्रचण्ड विवादमा तानिएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर समाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ ।

 तर आज भने प्रचण्डले हालको पाँच दलीय गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने भन्दै भरतपुरमा बोलेको अभिव्यक्ति सच्याएका छन् । ‘कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर गलत अर्थ लगाइएको छ । म फेरि पनि गम्भीर रूपले भन्न चाहन्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको हो। यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश फेरि राजनीतिक दुर्घटनामा जान सक्छ । ’, उनले भने ।