काठमाण्डु – मधेस प्रदेशमा पर्ने सिराहामा पहाडी र मधेसी दुवै समुदायको बसोवास छ । उत्तरी क्षेत्रमा पहाडी र दक्षिणी क्षेत्रमा मधेसी समुदायको वर्चस्व देखिन्छ । जिल्लामा माओवादी, एमाले, जसपा र कांग्रेसको प्रभाव छ । पछिल्लोपटक एमालेबाट फुटेको एकीकृत समाजवादीले पनि संगठन विस्तार गरिरहेको छ ।
जिल्लामा १७ वटा स्थानीय तह छन् । तीमध्ये आठवटा नगरपलिका र नौवटा गाउँपालिका हुन् । ०७४ सालको चुनावी नतिजाका आधारमा माओवादी सबैभन्दा ठूलो दल हो । उसले जिल्लामा ६ वटा पालिका जितेको थियो । तत्कालीन संघीय समाजवादी फोरमले पाँच, एमालेले चार तथा कांग्रेसले दुईवटा तहमा जित निकालेका थिए ।
दोस्रो संविधानसभा चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्न गएपछि यो जिल्ला चर्चामा आएको थियो । गत चुनावमा माओवादीले गोलबजार, धनगढीमाई, मिर्चैया र कर्जन्हा नगरपालिकामा मेयर–उपमेयर तथा अर्नमा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र औरहीको अध्यक्ष जितेको थियो ।
संघीय फोरमले बरियारपट्टी, भगवानपुर, लक्ष्मीपुर–पतारी र विष्णुपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा सदरमुकामसमेत रहेको सिराहा नगरपालिकाको मेयरका साथै औरही गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । एमालेले लहान र सुखीपुर नगरपालिकाको मेयर–उपमेयर, सिराहा नगरपालिकाको उपमेयर तथा सखुवानान्कारकट्टी र नरहा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो ।
कांग्रेसले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिकाको प्रमुख–उपप्रमुख जितेको थियो । जिल्लामा एमाले विभाजनको सामान्य असर छ । एमालेले पहिलेभन्दा संगठन मजबुत भएको दाबी गरेको छ । माओवादीको पहिलेको आधार केही खस्किएको छ । कतिपय पालिकामा माओवादीका बागी उम्मेदवारसमेत उठेका छन् । गोलबजारमा बागी उठेका रामचन्द्र महतोसहित ६ जनालाई कारबाही नै गरेको छ । यहाँ एकीकृत समाजवादीले सबै पदमा जसपालाई समर्थन गरेको छ ।
जिल्लामा पालिकाअनुसार फरक–फरक दलबीच प्रतिस्पर्धा देखिन्छ । लहानमा एमालेविरुद्ध सत्ता साझेदार दल एक भएर उत्रिएका छन् । यहाँ एमालेले पहिलेकै मेयर मुनि साहलाई अघि सारेको छ । गठबन्धनले कांग्रेसका महेश चौधरीलाई उम्मेदवार बनाएको छ । गत चुनावमा यो पालिकामा कांग्रेस दोस्रो र संघीय फोरम तेस्रो भएका थिए । गठबन्धनअनुसार मत गए यसपटक एमालेले लहान गुमाउन सक्छ ।
अन्य कतिपय पालिकामा गठबन्धन बनेको छ भने कतिपयमा दलहरू छुट्टाछुट्टै उत्रिएका छन् । माओवादीले जितेका धेरै पालिकामा एमाले र कांग्रेससँग प्रतिस्पर्धा देखिन्छ । जनता समाजवादी पार्टीको मुख्य प्रतिस्पर्धी कांग्रेस हो । औरहीमा माओवादी र जसपाबीच प्रतिस्पर्धा छ । नरहामा एमाले र जसपा तथा नवराजपुरमा कांग्रेस, एमाले र जसपाबीच त्रिपक्षीय भिडन्त देखिन्छ ।
मिर्चैयामा माओवादी र विष्णुपुरमा जसपा बलियो छ । सदरमुकाम सिराहामा जसपा, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । सुखीपुरमा अघिल्लोपटक संघीय फोरम र माओवादी मिल्दा पनि एमालेले जितेको थियो । यसपटक पनि ऊ नै बलियो छ ।
कर्जन्हामा माओवादी र एमाले तथा अर्नमामा माओवादी, एमाले र जसपाबीच कडा प्रतिस्पर्धा छ । धनगढीमाईमा माओवादी, कांग्रेस र एमाले प्रतिस्पर्धी हुन् ।
समग्रमा जिल्लामा माओवादीलाई विगतको परिणाम दोहो¥याउने चुनौती छ । आन्तरिक विवादले उसलाई समस्या छ । जसपा र कांग्रेसले पुरानै नतिजा दोहोर्याउन सक्छन् । तर, जसपामा पनि आन्तरिक कलह सानो छैन । एमालेलाई कतिपय पालिकामा गठबन्धनको डर छ । लहान गुमाए पनि अन्यत्र एमाले फाइदामा जान सक्छ । जिल्लामा आगामी चुनावका लागि ४ लाख १४ हजार १ सय ६६ मतदाता छन् । तीमध्ये २ लाख १९ हजार ५ सय ६४ पुरुष र १ लाख ९४ हजार ६ सय महिला छन् ।





















प्रतिक्रिया