स्थानीय निर्वाचन : शीर्ष नेता कसले कहाँबाट गर्दैछन् मतदान ?

स्थानीय निर्वाचन : शीर्ष नेता कसले कहाँबाट गर्दैछन् मतदान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोली अर्थात शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुदैछ । त्यसका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी देशभरबाट कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।

जसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

नयाँ जनप्रतिनिधि चुन्न सबै मतदाता आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगिसकेका छन् । त्यस्तै मतदानको लागि देशका विशिष्ट व्यक्तित्व तथा पार्टीको शीर्ष नेताहरू पनि आ–आफ्ना क्षेत्र पुगिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगेका छन् । उनी सोमबार नै गृहजिल्ला डडेल्धुरा पुगेका हुन् ।प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्नेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । उनले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनको दुई दिनअघिनै बुधबार चितवन पुगिसकेका छन् । उनले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाण्डुको मध्यबानेश्वरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नेछन् ।

माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यामिकवि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नेछन् ।

सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा (एमाले) उम्मेदवार केशव स्थापितले बागबजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसै गरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् ।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भई अपराह्न ५ बजे सकिनेछ । स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।