काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
उनले मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनका क्रममा पाँचदलीय सत्ता गठबन्धनबाट कतिपय ठाउँमा आक्रमण भइरहेको बताए । ‘याे चुनावमा बडो उत्साहका साथ सहभागिता रहेको छ । अत्यन्तै राम्रो उत्साह छ । केही ठाउँमा गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको छ,’ ओलीले भने, ‘यो दुखःद कुरा हो । एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन । सायद हार्ने डरले आक्रमण भइरहेको हुन सक्छ ।’
ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । उनले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए । ‘देउवाले आज डडेल्धुरामा मतदान गर्नुभयो । उहाँले अस्ती ९ वैशाखमा मात्रै चुनाव सारौँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । मैले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ सार्ने मनसायबाट पछि सर्नु भएको हो,’ ओलीले भने ।
देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए ।
यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ । ‘देशभर जनताको असाधारण उत्साहका साथ मतदान भइरहेको छ । केही ठाउँबाहेक । त्यस्तो नहुनुपर्ने हो, त्यस्तो उचित होइन्,’ उनले भने, ‘यस निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु । जनताको विजयलाई गठबन्धनले रोक्न सक्दैन ।’




प्रतिक्रिया