बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः चुनाव हुने भएको छ । ३० वैशाखको चुनावमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
पुनः मतदानका लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताए । मतपत्र, मतपेटिका, मतदान सामग्रीलगायतका सम्पूर्ण तयारी सकिसकेको कठायत बताउँछन् ।
३० वैशाखको चुनावमा विवादको केन्द्रविन्दू बनेको बुढीगंगामा सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । १३ हजारभन्दा बढी मतदाता रहेको बुढीगंगामा १० वटा वडा छन् ।
सत्ता गठबन्धनमा आबद्ध कांग्रेससहितका दलहरूले बुढीगंगामा पुनः मतदानको माग गरेका थिए भने एमालेले मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो ।
२३ असारमा पुनः मतदान गर्ने निर्णय गरेपछि आयोगविरुद्ध बुढीगंगाका मतदाता दलबहादुर सावदले सर्वोच्चमा रिट पनि हालेका थिए ।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले बुढीगंगामा ३० वैशाखमा भएको मतदानको मतगणना गर्न अस्वीकार गरेपछि पुनः मतदानका लागि बाटो खुलेको हो ।
विवाद टुंगो लगाउनकै लागि निर्वाचन आयोगले निर्वाचन आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि जबराले मतगणना गर्न सिफारिस गरे पनि आयोगले भने पुनः मतदान गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया