काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नयाँ लफडामा फसेका छन् । नेकपा एमालेले हालै घनश्याम भुसालको संयोजकत्वमा गठन गरेको अर्थ योजना विभागका सदस्यमा नियुक्त भएको विषय सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना सुरु भएको छ ।
उक्त विभागमा ‘एम अधिकारी खोटाङ’ नाम भएका व्यक्ति गभर्नर अधिकारी नै भएको एमाले स्रोत बताउँछ । गभर्नर अधिकारी पनि खाटाङकै हुन् । उनी विगतमा पनि एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएको एमाले नेताहरु बताउँछन्। अधिकारी यसअघि पनि नेता सुरेन्द्र पाण्डे प्रमुख रहेको सोही विभागमा सदस्य थिए । उनको नाम १६ नम्बरमा थियो ।
अर्थ राजनीतिक विश्लेषक हरि रोकाले सामाजिक सञ्जालमार्फत गभर्नर अधिकारीलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘मेरा अनन्य मित्रहरु माननीय घनश्याम भुसालको प्रमुखतामा अनन्य मित्रत्रय कमरेड योगेन्द्र शाही सचिव र प्रा.डा. रामचन्द्र आचार्यसहित मेरै जिल्लावासी राष्ट्र बैंकका गभर्नर यम।अधिकारीलाई देशको ठूलो दल एमालेले अर्थ तथा योजना विभागमा सदस्य नियुक्त गरेकोमा उहाँहरु सबैमा कार्यकालको शुभकामना,’ दिएका छन् । वाम विश्लेषक रोकाले खोटाङ्गकै हुन् ।
उच्च ओहदामा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नहुने बताइन्छ । यस्तोमा गभर्नर अधिकारीमाथि संसदमा प्रश्न उठेको छ । प्रतिनिधिसभा सांसदहरुले अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्मा, अमृता थापा, अन्जना विशंखेलगायतले नेकपा एमालेको योजना तथा अर्थ विभागमा सदस्य रहेका एम अधिकारी गभर्नर अधिकारी हुन कि होइनन् भन्दै प्रश्न गरे । साथै उनीहरूले गभर्नरमाथि छानविन गरि कारबाही गर्न माग गरेका छन् ।
सांसद शर्माले भनिन्, ‘नेकपा एमालेको उक्त विभागमा एम अधिकारी खोटाङ भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर भनिएको छ । गभर्नर हुन् कि होइनन् ? हुन भने ऐन, नियम विपरीत नियुक्त हुने र गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्छ । देशको अर्थतन्त्र सम्हाल्नुपर्ने व्यक्ति पार्टीको सदस्य रहेको कुरालाई गम्भीर ढंगले छानबिन गरियोस् र कारबाही गरियोस् ।’
देश गम्भीर संकटमा पुगेको अवस्था छ । अहिले अर्थतन्त्र बिग्रियो भनेर राजनीतिक दलहरु आरोप र प्रत्यारोपमा उत्रिएका छन् । यस्तोमा राष्ट्र बैंकका गभर्नर नै कुनै राजनीतिक दलमा जोडिनु नहुने भन्दै उनको चौतर्फी आलोचना भइरहेको हाे । यतिमात्रै होइन अधिकारीको राजीनामा समेत माग गरिएको छ ।
यता गभर्नर अधिकारीले भने एमालेसँग नाम जोडिएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत् एमालकोे अर्थ विभागमा रहेको मानिस आफू नभएको बताएका छन्। उनले लेखेका छन्– म कतै कुनै पार्टी राजनीतिमा नरहेको व्यहोरा जानकारी गराउन चाहान्छु । यसर्थ त्यहाँ उल्लेख गरिएको व्यक्ति म हुने कुरै भएन । ध्यानाकर्षण गराइदिनुभएकोमा हार्दिक धन्यवाद ।’




प्रतिक्रिया