काठमाण्डु – नेपाल राष्ट्र बंकका गभर्नर महाप्रसाद अधिकारीमाथि राजनीतिक दलहरु आक्रोशित बनेका छन् ।
नेकपा एमालेले हालै घनश्याम भुसालको संयोजकत्वमा गठन गरेको अर्थ योजना विभागका सदस्यमा नियुक्त भएको विषय सार्वजनिक भएपछि आजको संसद बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरु आक्रोशित बनेका हुन् । उनीहरुले गभर्नर अधिकारीमाथि प्रश्न उठाएका छन् ।
कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले नेपाल श्रीलंकातिर जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै उनीमाथि प्रश्न उठाए । ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?’ उनले प्रश्न गरे ।
गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उनको आरोप छ ।
‘रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ । अन्यथा जनताहरुले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।’
त्यस्तै कांग्रेसकै अर्का सांसद महामन्त्री गगन थापाले पनि उच्च ओहदाका व्यक्ति कुनै राजनीतिक दलको सदस्य बन्न नहुने भन्दै कटाक्ष गरे । नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्मा अमृता थापा, अन्जना विशंखे, गजेन्द्र महतलगायतले नेकपा एमालेको योजना तथा अर्थ विभागमा सदस्य रहेका एम अधिकारी गभर्नर अधिकारी हुन कि होइनन् भन्दै प्रश्न गरे । साथै उनीहरूले गभर्नरमाथि छानविन गरि कारबाही गर्न माग गरेका छन् ।
सांसद शर्माले भनिन्, ‘नेकपा एमालेको उक्त विभागमा एम अधिकारी खोटाङ भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर भनिएको छ । गभर्नर हुन् कि होइनन् ? हुन भने ऐन, नियम विपरीत नियुक्त हुने र गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्छ । देशको अर्थतन्त्र सम्हाल्नुपर्ने व्यक्ति पार्टीको सदस्य रहेको कुरालाई गम्भीर ढंगले छानबिन गरियोस् र कारबाही गरियोस् ।’
देश गम्भीर संकटमा पुगेको अवस्था छ । अहिले अर्थतन्त्र बिग्रियो भनेर राजनीतिक दलहरु आरोप र प्रत्यारोपमा उत्रिएका छन् । यस्तोमा राष्ट्र बैंकका गभर्नर नै कुनै राजनीतिक दलमा जोडिनु नहुने भन्दै उनको चौतर्फी आलोचना भइरहेको हो । यतिमात्रै होइन अधिकारीको राजीनामा समेत माग गरिएको छ ।
यता नेकपा एमाले भने गभर्नर अधिकारीको बचाउमा उत्रिएको छ । सांसद कृष्णभक्त पोखरेलले महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै ‘एम अधिकारी’ गभर्नर नभएको बताए ।
उनले भने, ‘अर्थ मन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरी मनोगत भावना राखेको देख आफैलाई दयाभाव जागेको छ । स्वयं महाप्रसादजीले म कुनै पार्टीमा छैन भन्ने वक्तव्य दिइसकेको विषयमा संसदमा प्रश्न उठाउन मिल्ने विषय पनि होइन ।’




प्रतिक्रिया