काठमाण्डु – सत्ता गठबन्धन दलहरूमा प्रतिनिधिसभा अन्तर्गत उपसभामुख पद नेपाली कांग्रेसलाई दिने तयारी भएको छ । पाँच दलीय सत्ता गठबन्धन दलहरुले लामो समयदेखि खाली रहेको उपसभामुख कांग्रेसलाई दिने तयारी गरेका हुन् ।
३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।नेपाली कांग्रेसले पार्टी सचेतक पुष्पा भुसाललाई उपसभामुख बनाउने तयारी गरेको सांसद मिन विश्वकर्माले काठमाण्डुपाटीलाई बताए ।
उनले उपसभामुख भुसालले दिने विषयमा सत्ता गठबन्धन दलहरुबीच छलफल भइरहेको बताए । ‘गठबन्धनमा उपसभामुख कसलाई दिने भन्ने विषय टुंगिसकेको छैन । तर पूर्वसहमति अनुसार कांग्रेसले पाउने सम्भावना अधिक्तम बढी रहेको छ । उपसभामुख पाउने सम्भावना रहेकाले हामीले पार्टी सचेतक भुसालजीलाई बनाउनु पर्नेबारे छलफल गरिरहेका छौँ ’, उनले भने ।
उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आह्वान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ । २०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै अर्को चयन हुन सकेको छैन ।




प्रतिक्रिया