यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाण्डु महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

महानगरपालिकाको सो निर्णय विवादमा तानिएको बेला उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाण्डु महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ उनले भनेका छन् ।

महानगरपालिकाका मेयर बालेन शाहकाे प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारी पैसामा आफू निकट र्‍यापरको सालिक बनाउन लागेको भन्दै आलोचना भएपछि मेयर शाहले यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने घाेषणा गरेका थिए ।