काठमाण्डु – प्रतिनिधिसभाको उपसभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराई र सत्ता गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएका हुन् ।
भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी रहेका छन् भने भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। एमालेले गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धाको निर्णय लिएको हो ।
भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो । सो अवधीमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका तर्फबाट उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको हो ।
दुई सांसदको उम्मेदवारी परेसँगै कसले मार्लान बाजी भन्ने चर्चा हुन थालेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । एमालेका ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका जम्मा सांसदको संख्या १५४ रहेको छ । यता नेकपा एमालेलाई लोसपाले समर्थन गरे पनि लोसपा र एमालेका सांसदको जम्मा संख्या १११ पुग्छ ।
त्यस कारण सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका सांसदको सङ्ख्याको आधारमा उपसभामुख पदमा कांग्रेस नेतृ भुसाल विजयी हुने निश्चित भएको छ । तर सत्ता गठबन्धन आवद्ध दलका सांसदले फ्लोर क्रस गरे एमालेकी उम्मेदवार भट्टराईले जित्ने सम्भावना छ । तत्कालिन उपसभामुख शीवमाया तुम्बाहाम्फेले २०७६ मा राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
विद्याको राजीतिक यात्रा
विद्या एमालेकी दिवंगत नेता एवम् पूर्वमन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म बनेकी थिइन्।
रवीन्द्र अधिकारीसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिएकी थिइन्। रवीन्द्र र विद्या अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिब तीन दशकअघि भेटिएका थिए।
संगठनमा रवीन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे। पछिल्लो समय उनी आरआर क्याम्पस काठमाण्डुकी उपप्राध्यापक पदमा कार्यरत थिइन्। रवीन्द्रको निधनपछि शीर्ष नेताहरुकै आग्रहमा उनी कास्की–२ बाट उपनिर्वाचनमार्फत निर्वाचित भएकी हुन्।
अधिकारी तत्कालीन एमालेको भ्रातृसंगठन अनेरास्ववियुको महासचिव हुँदा विद्या सचिव थिइन्। रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी विद्या भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन्।
०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्ववियु सभापतिकी प्रत्यासी थिइन्। शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन्।
०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः टाढा भएकी थिइन् । तर रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भने उनको पुन राजीतिमा आगमन भएको हो ।
पुष्पा भुसालको राजनीतिक यात्रा
२०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी कांग्रेसकी समानुपातिक सांसद भुसाल अर्घाखाँचीकी हुन् । उनी २०७० मा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्।
उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न छिन् । उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्।





प्रतिक्रिया