काठमाण्डु- नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा मनोनित एम अधिकारी राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारी नभएको स्पस्टीकरण दिएको छ ।
चौतर्फी आलोचना भएपछि बुधबार गर्भनर अधिकारीले एमालेलाई स्पष्ट पारिदिन पत्र लेखेका थिए । त्यसको जवाफ दिँदै एमालेले खोटाङका एम अधिकारी राष्ट्र बैङ्कका गर्भनर नभएको बताएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
‘पार्टीको केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा समाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।’ भीष्म अधिकारीले लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैँकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’
तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि अरु केही बताइएको छैन ।




प्रतिक्रिया