काठमाण्डु – सरकारले ३८ हजारमाथिका मोबाइल आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ सय अमेरिकी डरभन्दा बढी मूल्यका मोबाइल नेपाल भित्र्याउन रोक लगाएको हो ।
मन्त्रालयले बैशाख यता ६ सय अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेट ल्याउन रोक लगाएको थियो । तर, भदौ १४ सम्मको लागि ६ सय डलरबाट घटाएर ३ सय डलरसम्मका मोबाइलमा प्रतिबन्ध लगाएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ साउन १ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३ सय देखी ६ सय डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा अहिलेको व्यवस्था लागू हुने छैन ।
त्यस्तै सरकारले गाडीसहित १० वस्तुको आयात प्रतिबन्ध भदौ १४ गतेसम्मको लागि थप गरेको छ । यसअघि बैशाखमा सरकारले साउन १ गतेसम्म आयात प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । तर, बैदेशिक मुद्रा सञ्चितिमा दवाव रहेको भन्दै सरकारले डेढ महिना आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
सरकारले कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, स्मार्टफोन, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, १५० सीसीमाथिमा मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासमा पूर्ण प्रतिबन्ध लगाएको राजपत्रमा उल्लेख छ ।




प्रतिक्रिया