काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गभर्नरमाथि लगाइएका लान्छना बहाना मात्र भएको बताएका छन् ।
काठमाण्डुमा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका हुन् ।
‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरू भए‚ अहिले गभर्नरमाथिको हमला त्यही त हो । हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के ? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट ? स्रोत देखाउनुस् भन्यो ? स्रोत देखाउन सक्दैन । १७/१८ वटा फेक कम्पनीहरू छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरूको कुनै पनि महत्त्व छैनस यो स्रोत गलत हो भन्छस मन्त्रीजीले तोक लगाउनुहुन्छ- त्यो धनलाई तुरुन्त फुकुवा गर्नू । त्यो गर्न नमानेबापत राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् ।’
आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको उनको दाबी थियो । बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुल्हो बल्न नसकेको उनले बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको उनको भनाइ थियो ।
राज्य डरलाग्दो रुपमा बिचौलियाहरूको नियन्त्रणमा जान थालेको उनले बताए । अहिलेको गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप उनले लगाए ।




प्रतिक्रिया