एकीकृत समाजवादीमा अन्तर्संघर्ष : चुनावअघि एमालेसँग मिल्ने कि माओवादीसँग ?

एकीकृत समाजवादीमा अन्तर्संघर्ष : चुनावअघि एमालेसँग मिल्ने कि माओवादीसँग ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सत्तारुढ गठबन्धनमा तालमेल गरेर स्थानीय चुनावमा सहभागी हुँदा अपेक्षाकृत सफलता हात नलागेपछि नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा अन्तर्संघर्ष चर्किएको छ । नेकपा एमालेबाट छुट्टिएर नेता माधवकुमार नेपालले स्थापना गरेको एस पार्टीमा यतिबेला आगामी कार्यदिशालाई लिएर विवाद चर्किएको छ ।

एमालेको चर्काे आलोचना गर्दै एस अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन् । तर सम्मानित नेता झलनाथ खनाल गठबन्धनप्रति सन्तुष्ट छैनन् । स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एसलाई पूर्ण सहयोग नगरेको नेता खनालको निष्कर्ष छ । खनालकै गृहजिल्ला इलाममा समेत एसले स्थानीय चुनावमा अपेक्षाकृत जीत हासिल गर्न सकेन ।

पार्टी विभाजन हुँदा एसतिर लागेका नेताहरूको क्षेत्रमा समेत समाजवादी पराजित भएको छ । गठबन्धनको सहारामा एसले जनमत प्रभावित गर्न नसकेको निष्कर्षसहित नेता खनालले वैकल्पिक बाटोबारे छलफल चलाएका छन् । तर, नेता नेपाल भने गठबन्धनसँगै मिलेर चुनावमा जाने र बरु माओवादीसँग पार्टी एकीकरण नै गर्ने पक्षमा देखिएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक वृत्तमा चर्चा–परिचर्चा भइरहँदा एस पनि यसबाट अछुतो रहने कुरा भएन । सत्तारुढ दलसँग मिलेर जाँदा पनि स्थानीय चुनावमा प्रगति गर्न नसकेको एसले आसन्न चुनावमा के गर्ला ? निर्वाचन क्षेत्र र जिल्ला तहका नेताहरू केन्द्रको मुख ताकेर बसेका छन् ।

आगामी कार्यदिशाका सन्दर्भमा केन्द्रमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच संघर्ष देखिएको पार्टी उच्च स्रोतले जनाएको छ । अध्यक्ष नेपाल माओवादीसँग मिलेर जानुपर्ने पक्षमा छन् भने नेता खनाल कांग्रेस र माओवादीसँग मिलेर फेरि चुनाव हारिने भन्दै एमालेसँग एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । खनालले आफूपक्षीय नेताहरूसँग पार्टीभित्र छलफल तीब्र पारेका छन् ।

स्रोतका अनुसार खनाल र एमालेका दोस्रो तहका नेताहरूबीच समेत छलफल चलिरहेको छ । एमालेभित्र सन्तुलित मानिने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरूले एससँग पार्टी एकताका लागि लबिङ गरिरहेको जनाइएको छ ।

स्थानीय चुनावमा गठबन्धनबाट सहयोग नपाएका र पराजित हुनुपरेका नेताहरू समेत कांग्रेससँग सन्तुष्ट छैनन् । आफू जित्ने निश्चित भएका कतिपय ठाउँमा कांग्रेस र माओवादीले एससँग तालमेल नै नगरी एसलाई अलपत्र पारेका थिए । त्यसो हुँदा स्थानीय तहका नेता कार्यकर्ता समेत कांग्रेस र माओवादीसँग सन्तुष्ट छैनन् ।

आसन्न चुनावमा गठबन्धनमा हुने सिट बाँडफाँटको विवादका कारण पनि एस पार्टी एमालेसँगै मिल्नु सहज हुने तर्क पनि खनाल पक्षको छ । कांग्रेसले धेरै स्थानीय तह जितेको अवस्थामा संघ र प्रदेशको सिटमा एसलाई सिट नदिने, आफू जित्ने ढिँपी कस्ने र एसलाई अलपत्र पार्ने सम्भावना हुने विश्लेषण गर्न थालिएको छ ।

एमालेसँग मिलेको अवस्थामा विगतमा जितेका क्षेत्रमा टिकट सुरक्षित गर्न सकिने खनाल पक्षको विश्लेषण छ । स्थानीय चुनावमा एमालेले सम्मानजनक प्रभाव देखाएको, कतिपय क्षेत्रमा थोरै मतले पराजित भएकाले एस पनि मिलेमा चुनाव जित्ने सम्भावना रहने जनाइएको छ ।

वैचारिक विमतिभन्दा पनि शीर्ष नेताहरूबीच इगोका कारण पार्टी विभाजन भएकाले एमालेसँग मिल्नमा समस्या नहुने विश्लेषण गरिरहेको पक्ष एस पार्टीमा बलियो हुँदै गएको छ ।

‘स्थानीय चुनावले सकारात्मक संकेत गरेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि कांग्रेस र माओवादीबाट हामीलाई धोका हुन्छ । एमाले सिध्याउने भन्दाभन्दा हामीलाई नै सिध्याउने योजना रहेको स्थानीय चुनावबाट देखिएको छ,’ एसका एक केन्द्रीय सदस्यले भने, ‘राजनीतिक भविष्य नै सिध्याउनुभन्दा हाम्रा नेताहरूले इगो त्यागेर एमालेसँग पार्टी एकता गर्न तयार हुनुपर्छ । एमाले हामीले नै बनाएको पार्टी हो, हाम्रो योगदान छ, मिल्न पनि सजिलो छ ।’

पार्टीमा चलेको अन्तर्संघर्ष केही महिनाभित्रै निष्कर्षमा पुग्ने स्रोतले जनाएको छ । एमालेसँग एकताको वातावरण मिलाउन नेताहरूले पछिल्लो समय आलोचना कम गर्ने, वामपन्थी पक्षधरता देखाउने गर्दै आएका छन् । सार्वजनिक कार्यक्रम र भेलामा वामपन्थी एकताको चर्चा पनि चल्न थालेको छ ।