किन गरे राप्रपाका चार नेताले पार्टी परित्याग ?

किन गरे राप्रपाका चार नेताले पार्टी परित्याग ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकमा चारैजनाले संयुक्त विज्ञप्तिमार्फत राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

जसअनुसार पार्टी परित्याग गर्नेमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी रहेका छन् । यसअघि यी चारै नेतालाई पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको गुनासो गरेका छन् ।

‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, ती नेताहरुले विज्ञप्तिमा भनेका छन् ।

उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढङ्गले तल्लो स्तरको लाञ्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गर्ने दुष्प्रयास गरेको ती नेताहरुको भनाइ छ ।